यस वर्षको बडा दशैँको मुख्य दिन टिकाको साइत भोलि बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको छ ।

विगत, वर्तमान र भविष्यका अवयवहरूमा जुनसुकै बेला आवश्यक पर्न सक्ने माया, स्नेह, सम्मान र हौसलाको एकमुस्ट उपहार मानिने दशैंको प्रमुख टिकाको साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको हो।

बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा  मान्यजनको हातबाट टिका र जमरा लगाएर आर्शिवाद लिने समय उत्तम रहेको भएपनि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिन्छ।

केही स्थानमा विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने चलन पनि छ ।

नौ दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर, केरा र चामल मिश्रण गरेको रातो अक्षताले निधार भरिने टीका नै विजया दशमीको महत्त्वपूर्ण दिन मानिन्छ ।

टीका लगाउँदा महिला र पुरुषलाई भिन्न–भिन्न आर्सीवाद दिने गरिन्छ । अनेक देवी–देवतालाई पुकार गर्दा संस्कृत भाषामै भएका अनेक अर्थयुक्त मन्त्रहरू उच्चारण गर्ने गरिन्छ । घर–घरमा रातो टीका, जमरा अनि यी मन्त्रहरू शब्दोचारित हुने गर्छ।

घरको सानाहरूले टीका, जमरा र आर्सीवाद थाप्न आफूभन्दा ठुला मान्यजन कहाँ जाने जाने गर्छन् ।

यो पावन पर्व हिन्दु धर्ममा मात्र सीमित नभएर एउटा सनातन चल्दै आएको पर्व हो । यसलाई बौद्ध धर्मावलम्बीहरूले समेत हर्ष र उल्लासका साथ मनाउने गरेका छन् । बौद्ध अनुयायीहरू सेतो टीका लगाएर प्रज्ञाको पूजा गर्ने गर्दछन् ।

नेपालमा राष्ट्रिय चाडका रूपमा दशैँ मनाउन विभिन्न पेशा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा रहेका नेपालीहरु मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् ।

शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ। बडा दशैँको नवरात्र सुरु भएपछि विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन्।

दशैंमा शक्तिपीठमा भक्तजनको विशेष उपस्थिति रहन्छ भने शक्तिपीठमा बलिसहित पूजा गर्ने चलन छ ।

विजया दशमीको दसौँ दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । दशानन रावणको पराजय आजैको दिन दुर्गा भवानीले महिषासुर नामक असुरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ ।

दैत्यहरूमाथि देवताहरूको विजय, असत्यमाथि सत्यको विजय अनि अमानवीय तत्त्वमाथि मानवताको विजयका रूपमा मनाइन्छ ।