धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकासमा
कस्तो भई गयौ कस्तो भई आयौ काठैको बाकसमा
सँगै जाऊँ स्वर्ग भनेको भए मै जाने थिइनँ र
जवाफ देऊ प्यारा एकवचन बोल बोल्दैनौं किन र… ?

सन् २०१८ मा प्रकाश सपूतको ‘बोल माया’ बोलको यो गीतले निकै चर्चा पायो । वैदेशिक रोजगारीमा गएको छोरा, श्रीमान बाकसमा आउँदाका परिवार र श्रीमतीमा पर्ने पीडा दृष्यमा समेटिएको म्युजिक भिडियोमा आममानिसले आफ्नो पीडा भेटेपछि धेरैलाई गीतले छोएको हो ।

देशमा रोजगारी नपाएपछि काम खोज्न विदेसिनु नौलो कुरा रहेन । प्रकाश सपूतको गीतमा जस्तै बाकसमा भरिएर आउने थुप्रै छन् । कतिपय त विदेसिएका अहिलेसम्म सम्पर्कविहीन बनेका छन् । पाँचथरको यासोक घरभएका मानबहादुर खुलाल २०६२ सालमा कतार जान घरबाट हिंड्दा १८ वर्षका थिए । घरबाट हिंडेपछि १ वर्षसम्म उनी परिवारको सम्पर्कमै थिए । त्यसयता भने उनले न घरमा सम्पर्क गरे, न परिवारले खोजी गर्दा उनलाई भेट्नै सकेका छन् ।

७१ वर्षीया ठगीमाया खुलालको कान्छा छोरा घरआउने आशामा दुई दशक बित्यो । आमालाई खुसी राख्ने सपना देखाएर पैसा कमाउन विदेश हान्निएको कान्छो छोरो अहिलेसम्म सम्पर्कविहीन छन् । काखको छोरो आमालाई खुसी राख्ने भन्दै पैसा कमाउन गएको र अहिलेसम्म सम्पर्कविहीन भए पनि छोरा आउने आशा हराएको छैन । छोरो सम्पर्कविहीन बनेदेखि आँखाका आँसु ओभाएका छैनन् । ठगीमाया यतिका समय बिते पनि काखको छोराको खबर आएन भन्दै गहभरि आँसु पार्छिन् । उनलाई अहिले, भरे नै टुप्लुक्क आएर आमा भनिहाल्छ कि भन्ने मनमा लागिरहेको छ । आँखाभरि आँसु पार्दै जतिबेला पनि आँगनतिर हेरिरहन्छन् ।

घरको आर्थिक अवस्था कमजोर भएकाले कमाउन विदेश गएको छोराको अत्तोपत्तो नहुँदा ठगीमाया भक्कानिएकी छन् । काखको छोरो हराएपछि घरमा पतिको समेत निधन भएकाले पीडैपीडामा डुबेकी ठगिमाया छोरो आइपुगिहाल्छ कि भन्ने आशामा छिन् । उनी भन्छिन् ‘म दिनैपिच्छे भगवानलाई पुकारिरहेकी छु, छोरो जहाँ भए पनि एकदिन घर आइपुग्छ, पक्कै भगवानले मेरो इच्छा पूरा गर्नेछन्, अब मेरो आशा नै काछो छोरो घर आइपुग्छ कि भन्ने मात्रै छ ।’ बाल्यकालमै रहेको छोरो यसरी बेपत्ता होला भनेर उनले कल्पनासमेत गरेकी थिइनन् । तर, गाउँमा कमाइ भएन भनेर विदेश गएको छोरो फर्केर आएन ।

‘बुढेस कालमा त्यही छोराको चिन्ताले धेरै पिरोलेको छ । इलाममै रहेकी मानबहादुरकी दिदी मीना आप्mनो भाइ नेपालै फर्किएको खबरसम्म आए पनि सम्पर्क हुन नसकेको बताउँछिन् । ‘बेपत्ता भएको केही समयपछि भाइ (मानबहादुर) नेपालै फर्किएका छन् भन्ने खबर त आयो तर अहिलेसम्म पत्ता लागेको छैन,’ उनले भनिन्, ‘भाइ बेपत्ता भएयता आमाको आँसु अडिएको छैन, भाइ हराएपछि बुबा (मित्रबहादुर)ण्को पनि निधन भयो ।’ मानबहादुरलाई घर फर्किन परिवारजनले मिडियामार्फत् नै आग्रह पनि गरे अहिलेसम्म अत्तोपत्तो छैन ।

राजधानी न्युजबाट साभारछ ।