कहीं निर्माणको जिम्मा लिएकाको लापरबाही त कहीं बजेटको अभावले कपिलवस्तुमा कतै पुल नभएर समस्या भएको छ भने कतै नबनेर स्थानीयले समस्या झेल्दै आएका छन् । जिल्लाको विजयनगर गाउँपालिका वडा नम्बर–५, देवीपुर–डालपुर जोड्ने विशवा खोलामा पुल नहुँदा त्यहाँका स्थानीयलाई सास्ती भएको छ । गाउँपालिकाको शिवमाध्यमिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई पटक पटक खोलाले छेक्ने गरेको विद्यार्थीहरू बताउँछन् ।

पुल हुने स्थानमा साना २ थान ह्युम पाइप राखिएको छ । सानो डाइभर्सन जस्तो देखिने ह्युमपाइप वरिपरिको माटो समेत पछिल्लो वर्षाले बगाएको छ । सो खोला पारिका करिब २ सय ५० बालबालिका अध्ययन गर्ने एक मात्र विद्यालय पुग्न खोला पार गर्नुपर्ने बाध्यता छ । पुल नहुँदा केही बालबालिकाको खोलामा डुबेर मृत्यु समेत भएको स्थानीयले बताएका छन् । ‘विद्यालय पुग्न खोला पार गर्नुपर्छ । पानी पर्दा ठूलो भेल आउँछ । करिब १ सातासम्म पानी बगिरहन्छ । खोला पार गर्दा ओर्लिने ठाउँ चिप्लो छ । त्यसैमा चिप्लिएर पटक–पटक लडिएको छ । ड्रेस, किताब र झोला समेत भिजेका छन् । केही साथीहरू चोटपटक लागेर घाइते पनि भएका छन् । ‘शिव मावि डालपुर कक्षा १० मा अध्ययनरत रञ्जु कुर्मीले विद्यालय पुग्दाको व्यथा सुनाउँदै भनिन् ।

वर्षा भयो भने बाढीका कारण बालबालिका जोखिम मोल्दै विद्यालय पुग्नुपर्ने बाध्यता रहेको शिक्षक बालजी कलवारले बताए । गाउँपालिकाका ठाकुरापुर, देवीपुर, दत्तपुर र कटानियालगायतका बस्तीलाई जोड्ने खोलामा पुल नहुँदा बालबालिका मात्र नभई स्थानीयले समेत सास्ती बेहोर्नु परेको छ । अहिले बालबालिका विद्यालय पुग्न काठको फड्केको सहारा लिनु परेको छ ।

गाउँपालिकाले पुल निर्माणका लागि डीपीआर तयार गरी प्रदेश सरकारलाई अनुरोध गरेको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले बताए । सो स्थानमा १ सय ५० मिटर लामो मोटरेबल पुल आवश्यक परेको हुँदा संघीय सरकार र प्रदेश सरकारसँग माग गरे पनि सुनुवाइ नभएको अध्यक्ष थापाले गुनासो गरे ।

राजधानीबाट साभारगरिएकोछ ।