संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजनामा आजदेखि पोखरामा तीनदिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । गण्डकी प्रदेशको कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको सहयोगमा संसदीय गतिविधिका क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको हो ।

तालिमको उद्घाटन सत्रमा गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सङ्घीयताको महत्वपूर्ण पक्षका रूपमा रहेको प्रदेश सभाले आफ्नो चारवर्षे अवधि पार गर्दै पाँचौँ वर्षमा रहेको बताउनुभयो ।

नयाँ अभ्यासका रूपमा अघि बढ्दा विभिन्न अनुभवसँगै भोगाइलाई पार गर्दै अघि बढिएको उल्लेख गर्दै उहाँले संसद्का गतिविधिलाई बाहिर ल्याउन सञ्चारजगत्को भूमिका महत्वपूर्ण हुने गरेको बताउनुभयो ।

संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशका कावा अध्यक्ष अमृत सुवेदीले संसदीय गतिविधिमा कलम चलाएका सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको जानकारी दिँदै यसले आगामी दिनमा संसदीय गतिविधिको समाचार सङ्कलनलाई प्रभावकारी बनाउने बताउनुभयो ।

संसदीय गतिविधिका जानकार विभिन्न व्यक्तित्वबाट तालिम प्रदान गरिने उहाँले बताउनुभयो । तालिममा संसदीय पत्रकारिताको अध्ययन अनुसन्धानमा क्रियाशील नरेन्द्र साउद र नारायण काफ्ले, सङ्घीय संसद् सचिवालयका पूर्वसचिव ठाकुर बराल, सांसद रमेश लेखकका साथै प्रदेशसभाका सभामुख, उपसभामुख, मुख्य न्यायाधिवक्ताकालगायतले प्रशिक्षणसँगै अनुभव प्रदान गर्ने कार्यक्रम रहेको मञ्चका सचिव रोहितराज पराजुलीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, कास्कीका अध्यक्ष विमला भण्डारीलगायतले तालिमको सफलताको शुभकामना व्यक्त गर्नुभयो । तालिममा ४० जनाको सहभागिता छ ।

रासस