काठमाडौंको साँखुस्थित शालीनदी क्षेत्रमा लाग्ने माधवनारायण तथा स्वस्थानी व्रत मेला शुक्रबारदेखि सुरु भएको छ। व्रतको अघिल्लो दिन बिहीबार चिभ्वय नयगु (नुन भोज खाने) कार्यक्रम भएको छ। प्रत्येक वर्षजसो व्रत सुरु हुनुभन्दा अघिल्लो दिन यसरी नै चिभ्वय नेयगु कार्यक्रम हुन्छ। व्रस्त बस्ने महिलाले एक महिनासम्म नुन खान नहुने भएकाले व्रत सुरु हुनु अघिल्लो दिन यसरी नुन भोज खाने परम्परा छ।

हिन्दु धर्मालम्बीहरुले घर–घरमा श्री स्वस्थानी कथा वाचन गर्छन्। एक महिनाभर व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छन्। माघ शुक्ल पूर्णिमाका दिन व्रत र कथा समापन हुन्छ।

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।

यसअघि मेलाको एक हप्तादेखि नै व्रतालुले पूजापाठ सुरु गरेका थिए। यो व्रतलाई कठिन व्रत मानिन्छ। व्रतालुले एक छाकमात्र खान्छन्। जुत्ताचप्पल नलगाई पैदल हिँड्नुपर्ने व्रतविधि छ। यो बेला व्रतालुले सात्विक भोजन गर्छन्। व्रतको बीचमा गर्नुपर्ने परदेश यात्रामा पनि जुत्ताचप्पल नलगाई खाली गोडा पैदल यात्रा गर्नुपर्छ। यो यात्रा साँखु शालीनदी क्षेत्रबाट बज्रयोगिनी, पशुपति, फर्पिङ, पनौती, चाँगुनारायणलगायत स्थानमा गरिन्छ। नुन खान नहुने, हिँडडुल गर्दा जुत्ता नलगाई खालीखुट्टा हिँडनुपर्नेलगायत कारणले यो व्रतलाई कठिन अनि कठोर व्रत मानिन्छ। साँखुलाई ३ हजार ३ सय वर्ष पुरानो सहरका रूपमा मानिँदै आएको छ। त्यसै बेलादेखि माधवनारायण स्वस्थानी व्रत नियमित रूपमा सञ्चालन हुँदै आएको विश्वास छ।

मेलामा आउने भक्तजनका लागि सहज रूपमा सार्वजनिक यातायातको व्यवस्था गरिने जनाएको छ। यसका लागि शालीनदी यातायात प्रालि, बाबा गोकर्णेश्वर यातायात प्रालिबाट सबै बस सञ्चालन गरी अपुग भएमा अन्य यातायातका साधन पनि सञ्चालनमा ल्याइने भएको जनाइएको छ। मेलामा शान्तिसुरक्षा, स्वास्थ्य सेवा, निःशुल्क खानेपानी सेवा, कोरोनाको नयाँ भेरियन्ट बढ्न सक्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउन चेतनामूलक अभियान सञ्चालन गरिनुका साथै स्यानिटाइजर र मास्क निःशुल्क वितरण गरिने भएको छ।

नागरिक न्युजबाट साभारछ ।