३ दशक अघि सम्म पुर्वी जिल्लाबाट नोकरीका लागि जिल्लामा आएका तीन चार परिवारले मात्र जिल्लामा छठ पर्व मनाउने गथ्र्यो। मूल घर पूर्वको तराई जिल्लामा भई कपिलवस्तुको तौलिहवामा विभिन्न कामले बस्दै आएका दुई चार घरले मात्र मनाउने गरिएको छठ विगत ५ बर्ष यता जिल्लाका विभिन्न जातजातिहरुले समेत छव पर्व मनाउने गरेका छन्। अहिले भने छठ पर्व जिल्लामा एकता र सदभावको रुपमा चित्रण गर्न थालेको छ।

मैथिली पहाडी र अवधी समुदायलाई यो पर्वले जोडेको छ। केही बर्ष अघि सम्म पूर्वी तराईका केही जिल्लाहरुमा सीमित छठ पर्व अहिले समावेशी बन्दै गएको छ। अहिले तराईका जिल्लाहरुमा समेत विभिन्न जात जातिहरुले समेत मनाउन थालेपछि यो पर्व समावेशी र साँस्कृतिक पर्वकारुपमा विकसित हँुदै गएको हो।

सिराहा सप्तरी, पर्सा लगायका जिल्लाहरु मनाई गरिएको पर्व राजधानी, पहाडी जिल्ला लगायतका अन्य तराईका जिल्लाहरुमा समेत धुमधामसँग मनाउन थालिए पछि यो पर्व धार्मिक सदभावका रुपमा स्थापित हुँदै गएको हो। विशेष गरी पूर्वका मधेसी समुदायले मात्र अंगालिएको छठ पडाडी, नेवार, मधेसी, दलित मुस्लिम, जनजाति लगायतमा समेत लोकप्रिय बन्दै गएको पाईएको छ। अराध्य देव सूर्यको आराधना र उपासना गरी मनाईने छठ पर्व शुक्रबार  सुरु भई  सोमबार सम्पन्न हुँदै छ। आइतबार परेको छठ पूजाका लागि विशेष घर घरमा विशेष तयारी समेत गरिएको छ। जिल्लाको उत्तरी भेगमा रहेको गोरुसिंगे, चार नम्बर, चन्द्रौटा लगायतमा समेत छठ पर्व मनाउनेको संख्या  हरेक बर्ष वृद्धि हुँदै गएको छ। अधिकारकर्मी रबि ठाकुरले विगत १० बर्ष अघि सम्म पूर्व जिल्लाबाट कपिलवस्तु आएका परिवारले मात्र छठ पर्व मनाउने गरेको बताए। तर विगत केही बर्ष यता छठ पर्व जिल्लाका हिन्दु नेवार, मुस्लिम समुदायले समेत मनाउन थाले पछि यसले मैथैली, पहाडी र अवधि र भोजपुरीलाई जोड्ने काम गरेको बताए।

कपिलवस्तु नगरपालिका– १ की नेवार समुदायकी समा  शाक्यले एक  दशक अघि देखि छठ पर्व मनाउँदै गएको बताइन्। माईती घरमा छठ पर्वको बारेमा सुने पनि पर्व मनाउने तर्फ कुनै चासो नदिएकी उनले मधेसी, पहाडीहरुसँगै एकैसाथ छठको पर्व मनाउँदा निकै रमाईलो लाग्ने गरेको बताइन्।  विभिन्न जातजातिहरुले एकैसाथ पर्व मनाउँदा साँस्कृतिक आदानप्रदान समेत हुने गरेको उनी बताउँछिन्। कपिलवस्तु नगरपालिका– २ की कुन्ती पासीले जमुहरा नदीमा सबैसँग सामूहिक पुजा गर्ने गरेको बताइन्। यस पटक पनि छठ पूजाको तयारी गरेकी उनले मधेसी पहाडी सबै जातजातिसँग सामूहिक रुपमा पर्व मनाउन पाउँदा खुशी लागेको बताइन्। ‘ सबै जना नदीमा गएर पूजा गर्छौं, कुनै भेदभाव छैन, ’ उनले भनिन्।

जिल्ला समन्वय समितिका पूर्व सदस्य समेत रहेकी पासीले छठ पर्वले जिल्लामा धार्मिक सदभाव समत कायम राखेको बताइन्। छठ पर्व आफ्नो पुरै परिवार र छिमेकीहरु सित मिलेर एकैसाथ मनाउने गरेको उनले सुनाइन्। तौलिहाव उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले छठ पर्व जिल्लामा लोकप्रिय बन्दै गएको बताए। विशेष शुद्धासुद्धी,  हर्ष– उल्लास, परिवार, मित्रहरु, आफन्तजनहरुसँग भेटघाटको अवसरका रुपमा समेत यो पर्व बन्दै गएको उनी बताउँछन्। धनी, गरीब, हिन्दु मुस्लिम, महिला पुरुष, पहडी मधेसी सबै वर्ग समुदायले अंगाल्न थालेको यो पर्वले मुलुको वर्तमान अवस्थामा सामाजिक समानता कायम गर्न मद्दत पुग्ने उनको विश्वास छ।

संचारकर्मी मनाज श्रीवास्तवले  जातिय, वर्गीय, मुद्दामा विभाजित वर्तमान समयमा यो पर्वले सामाजिक एकता र धार्मिक सहिष्णुतालाई कायम गर्न मद्दत मिल्ने बताउँछन्। पूर्वीय संस्कृतिमाथी बिस्तारै पश्चात्यको पकड बढिरहेको बेला यो पर्वकोे ब्रतालु र श्रद्धालु बढ्नुले पनि यो पर्वको झन् महत्व बढ्दै गएको मानवअधिकारकर्मी राम दयाल ठाकुर बताउँछन्। यो पर्वको महत्ता र लोकप्रियताको कदर गर्दै राज्यले समेत यो पर्वलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिनुपर्ने उनको माग छ। छठ पर्व वैज्ञानिक दृष्टिले समेत महत्वपूर्ण रहेको केही चिकित्सकहरु बताउँछन्। उनीहरुका अनुसार विशेष गरी छठमा सूर्यको उपासना गरिने र त्यही सूर्यको किरणमा भिटामिन सि पाईने भएकाले प्राणी जगतका लागि प्रत्यक्ष र अप्रत्यक्ष जीवन प्रदान गरिहेको हुन्छ। त्यसैले छठ पर्वमा गरिने सूर्यको आराधनाले छाला सम्बन्धी रोग निको हुने समेत जनविश्वास रहँदै आएको छ।

छठ पर्वको पहिलो दिन अर्थात् कार्तिक शुक्ल चौथीको दिन देखि सुरु हुने गर्दछ। पहिलो दिनलाई नहान खान भनिन्छ। यस दिन विशेष सुद्धासुद्धि अपनाइन्छ। यस दिनदेखि श्रद्धालुहरुले लसुन, प्याज, मसुरोको दाल, कोदो लगायतको परिकारहरुको परित्याग गरी अरुवाको चामलको भात, रहरको दाल र लौकाको तरकारी बनाएर खाने गरिन्छ। दोस्रो दिन अर्थात् पंचमीलाई खरना भनिन्छ। यस दिन ब्रतानलुहरु दिनभरी उपवास बसी बेलुका चन्द्रमाको दर्शन गरी सकेपछि मोटको नयाँ चुलो र भाँडामा सख्खर, दुध, र चामलको खीर पकाइन्छ। केराको पातमा राखेर खीर छठी मातालाई चढाइन्छ र त्यसलाई प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ। पर्वको तेस्रो दिन अर्थात षष्ठीलाई सझियाघाट भनिन्छ। पर्वको मुख्य दिनको रुपमा रहेको यस दिन बिहानै तेल र ध्युमा चामलको ठेकुवा र कसार लगायतका परिकार पकाई पाँच थरिका मिठाई, उखु, अदुवा, नरिबल, मुला, सुथनी, सुपारी, ल्वाङ,  सुकमेल लगायतका सामाग्रीहरु राखिन्छ। सो सामाग्रीहरु बासको टोकरी, सुपोमा राखेर जल, गाईको दुध सहीत छठ पर्व मनाउने घाट वा जलासयमा पुगेर पूजापाठ गरी अस्ताउँदो सूर्यलाई अध्र्य दिई  घर फर्कने गर्दछन्। कतिपय ब्रतालुहरु घर नफर्कि रातभरी बस्ने गर्छन्। भाकल बसेका केही ब्यक्तिहरुले माटोका देबी देवताका मुर्तिहरु बनाई पूजाआजा गर्छन्, जसलाई कोशिया भनिन्छ।

कार्तिक सप्तमीका दिन उदाउँदो सूर्यलाई अध्र्य दिए पछि यो पर्व बिधिवत रुपमा सम्पन्न हुने गर्दछ। छठ पर्वका विषयमा विभिन्न कथा र किम्दन्तीमा रहेको पाइएको छ। सत्ययुगमा सरयाती नामक राजाका सुपुत्री सुकन्याले पहिलो पटक छठ गरेको बताइन्छ। यस्तै महाभारतमा पाँच पाण्डवले बसेको गुप्तवासको सफलताको कामना गर्दै द्रौपदीले छठ पर्व मनाएको पाइन्छ। त्यही बेला देखि नै छठ पर्वको सुरुवात भएको धेरैको भनाई छ। पिता श्रीकृष्णको श्रापबाट कुष्ठरोगले पीडित बनेका साम्ब सूर्यको आराधनाबाट रोगमुक्त बने पछि छठको चलन चलेको साम्बपुराणमा उल्लेख रहेको पंडीतहरु बताउँछन्।

उता शुक्रबार  देखि ४ दिन सम्म चल्ने छठ पर्वको तयारी पुरा भएको छ । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले छठ पर्वका लागि जमुहार र रामघाटमा सरसफाई, छठ स्थलको निर्माण लाईटिङ लगायतका कुराहरुको व्यवस्थापन गरिएको बताए।  जमुहरा र रामघाट नदीमा छठ पर्वमा बूतालुहरुका लागि पूजा गर्न गरी सबै व्यवस्था मिलाइएको उनले बताए। रामघाटको वारी कपिलवस्तु नगरपालिका र पारी बुद्धभुभुमी नगरपालिकाले छठ पूजा स्थल निर्माण गरेको छ।

नागरिक न्युजबाट साभारछ ।