स्थानीयतहको चुनावको मिति जतिजति नजिकिँदै छ मधेस प्रदेशमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको दौडाहा त्यति नै बाक्लिदैं छ। मधेसी दलको तागतकोरुपमा रहेको मधेस प्रदेश जनसंख्या र मतदाताको हिसावले ठूलो छ। त्यही भएर यहाँको मत राष्ट्रिय राजनीतिमा निर्णायक बन्दै आएको छ। यो प्रदेशमा सबै प्रमुख दलका शीर्ष नेताले मत मन्थनलाई तेज पारेका छन्।

मधेस प्रदेश सरकारमा राष्ट्रिय पार्टीहरुको सहभागिता बढेसँगै प्रदेशमा प्रभुत्व कायम गर्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी सहित दलहरुको सक्रियता बढेको छ। जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी आफ्नो साख जोगाउने कसरतमा जुटेका छन्। शीर्ष नेताहरुको मधेस दौडाहा बाक्लिएसँगै यहाँ चुनावी रंग चढेको छ।

एक महिनाभित्र यहाँ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राजनीतिक कार्यक्रमलाई सम्बोधन गरिसकेका छन्। मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगंज पुगेर प्रधानमन्त्री देउवाले  नेता कार्यकर्तालाई स्थानीयतहको निर्वाचनको तयारीमा जोडतोडका साथ लाग्न उर्जा थपेका थिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारा र पर्सा पुगेर विभिन्न दलका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराएर मधेसमा एमालेप्रति क्रेज बढेको सन्देश दिएका थिए। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटमा विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै दर्ता भएको छ महिनामा आफ्नो पार्टी देशभर लोकप्रिय बनेको सन्देश दिएका थिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दलहालले मधेस प्रदेशको राजधानी जनकपुरधाममा विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै पार्टीको क्रेज बढेको बताएका थिए।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरु राजेन्द्र महतो, शरतसिँह भण्डारी र अनिल झा मधेस दौडाहालाई निरन्तरता दिँदै यतै छन्। लोसपाका नेताहरु जनकपुरधाम, सर्लाही, वीरगन्ज केन्द्रित नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई जोडतोडले अघि बढाइरहेका छन्।

जसपाका अध्यक्ष उपेन्द्र यादव मधेसका जिल्ला दौडाहालाई निरन्तर अघि बढाइरहेका छन्। यादव जनकपुरधाम, वीरगन्ज र राजविराज केन्द्रित पार्टी प्रवेश तथा प्रशिक्षण भेलालाई निरन्तरता दिँदै छन्।मधेसमा सानदार जितका लागि जसपा र लोसपा संघर्ष गर्दै छन्।

दल विभाजनपछि मधेसी जनताको फाटेको मनमा मलम लगाएर मधेसी मत आफ्नो पक्षमा पार्न दुबै दलको कसरत छ। तर चुनावी प्रतिस्पर्धामा रहेका यी दुई दललाई आफ्नै अखडामा प्रतिष्ठा जोगाउन सकस परेको छ। दुबै दल एकिकृत हुँदा मधेसमा बलियो थिए। फुटसँगै यी दुई दलको पकड खस्किँदै गएको छ। जसको लाभ नेपाली कांग्रेस, नेकपा एस, माओवादी केन्द्र र एमालेले पाउने देखिन्छ। जसपा–लोसपाबीच  चुनावी तालमेल भए मधेसमा पकड कसिलो हुने विगतको चुनावी मत परिणामले देखाउँछ। तर, यी दुई दलबीच तत्कालै तालमेलको पहल सुरु भएको छैन्।

मधेसको मत चुनावै पिछे बदलिएको पाइन्छ। यहाँको मतलाई जाती, पैसा र उम्मेदवारको व्यक्तित्वले प्रभावित पार्ने गरेको पाइन्छ। त्यही भएर शीर्ष दलका नेताहरु यो क्षेत्रलाई केन्द्रमा राखेर दौडाहा तेज पारेको राजनीतिक जानकारहरु बताउँछन्।

मधेसमा शीर्ष नेताहरुको मोह जाग्नुको अर्को कारण हो–अस्थिर मतदाता। चुनावका बेला जनप्रतिनिधिसँग बढ्दो असन्तुष्टि, मत खरिदबिक्री र अशिक्षित मतदातालाई आफ्नो खुबीअनुसार तान्नसक्ने कारणले पनि चनावका बेला नेताहरु मधेसमा झुम्मिन्छन्। मधेस प्रदेशमा १८ प्रतिशत दलित र १२ प्रतिशत मुस्लिमको जनसंख्या छ। यी दुई समुदायको मत निर्वाचनमा सधैं विभाजित हुन्छ । अरु क्षेत्रमा भन्दा मधेसका जनता चुनावलाई पर्व तिहारको जस्तै ठान्छन्। त्यसैले चुनावमा यो क्षत्रे चुनावका बेला बढी तरंगित हुन्छ।

मधेसमा १ सय ३६ स्थानीय तह छन्। मधेसमा बढी मत व्यक्तिकेन्द्रित भएर खस्छन्। मन मिल्ने मान्यजन जतातिर लाग्यो मतको भींड उत्तै दौडिन्छन्। त्यही भएर यस क्षेत्रमा चुनावका बेला व्यक्ति भन्दा पनि मतका ‘सौदागर’को भ्यालु बढ्छ। नेताहरु उनैको अघिपछि कुद्छन्।यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो