कात्तिक २२ गते मंगलबार खग्रास चन्द्रग्रहण रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
पञ्चाङ्ग निर्णायक विकास समितिले जनाए अनुसार चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको छ ।
यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको हो ।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए अनुसार कात्तिक २२ गते बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो ।
ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरूपमा देखिने जनाइएको छ
बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने र बेलुकी ०६ः३४ बजे ग्रहण सकिने छ ।
एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा. डा रामचन्द्र गौतमले बताउनु भयो ।
कात्तिक २२ गते मङ्गलबार बिहान ०८ः११ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ ।
बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उहाँले बताउनु भयो ।
ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।
यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको हो । औँसीमा सूर्यग्रहण र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।
समाचार स्रोत नेपाली पात्रो

















प्रतिक्रिया दिनुहोस्