पप्पुले ८ वर्षसम्म अलपत्र पारेर ठेक्का तोडिएका लुम्बिनी–भैरहवा रोडका दुई वटा पुलको निर्माणमा नयाँ ठेकेदारले पनि लापरबाही सुरु गरेको छ। पप्पुसँगको सम्झौता रद्द गरी पुनः ठेक्का लगाइएको तीन महिना बित्न लाग्दासम्म पनि ती पुलको निर्माण कार्य सुरु हुन सकेको छैन।
विगत ८ वर्षदेखि अलपत्र पारिएका भैरहवा–लुम्बिनी रोडमा पर्ने दानव र तिनाउ पुलको बाँकी कामका लागि गत पुषमा नयाँ ठेक्का सम्झौता भएको थियो। यी दुवै पुलको ठेक्का रमण रियल होम ईन्फ्राटेक जेभि ललितपुरले पाएको हो। १० करोड ३० लाख रुपैयाँको लागतमा दुई वर्षमा बाँकी निर्माण सम्पन्न गर्ने गरी गत पुष २७ गते ठेक्का सम्झौता भएको हो। तर सम्झौताको दुई महिना बितिसक्दा पनि ठेकेदार कम्पनीले नाकमुख देखाएको छैन। आयोजना स्थलमा बोर्ड समेत राखिएको छैन।
यी पुल हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तु अन्तर्गत छन्। तर आयोजनाको ठेकेदार कम्पनी अहिले सम्बन्धित कार्यालयको सम्पर्कमा समेत पुगेको छैन। सम्झौताको दुई महिना बितिसक्दा पनि ठेकेदार सम्पर्कमा नआएपछि चार दिनअघि पत्र काटिएको कार्यालयका सूचना अधिकारी सरद आर्चायले बताए। ‘हामीले काम सुरु गर्न पत्र काटेका छौं तर कम्पनीले त्यसको कुनै जवाफ दिएको छैन,’ इन्जिनियर आर्चायले भने।
इन्जिनियर आर्चायका अनुसार सामान्यतया ठेक्का सम्झौताको १५ दिनभित्र काम सुरुको प्रक्रिया थाल्नु पर्छ र तीन महिनाभित्र काम सुरु गर्नुपर्ने प्रावधान छ। पुल निर्माणमा फलामे डण्डीको प्रयोग बढी हुने र हाल डण्डीको मूल्य उच्च भएकाले ठेकेदारले निर्माणको काम नथालेको श्रोतको दावी छ।
यी पुल २०७१ पुष २५मा पप्पु÷बागमती जेभीले पुल निर्माणको ठेक्का लिएको थियो। २०७३ को असारमै निर्माण सम्पन्न गर्नु पर्ने पुल पटक पटक म्याद थप्दै अलपत्र पार्दै गरेपछि सडक विभागले गत वर्ष पप्पुसंगको सम्झौता तोडेर पुनः ठेक्का आव्हान गरेको हो। ८ वर्षमा दानवको २५ र तिनाउ पुलको ५० प्रतिशत काम भएको छ।
बाँकी काम नयाँ ठेक्का सम्झौता गरेको रमण रियलले अबको २४ महिनामा सक्नु पर्नेछ। हुलाकी राजमार्ग अन्तर्गतका यी दुई पुल निर्माणमा सुरुदेखि नै भइरहेको लापरबाही र ढिलासुस्तीको नकारात्मक प्रभाव लुम्बिनीको पर्यटनमा परीरहेको छ। किनकी यहाँका पुराना पुल सागुरा र जीर्ण छन्। बुद्ध जन्मस्थल लुम्बिनी आउने ९० प्रतिशत पर्यटक यही सडक हुँदै लुम्बिनी पुग्छन्। जहाँ मालबाहक गाडीहरु संगै पर्यटकका गाडीहरु जाम लाग्छन्।
फोर लेनमा स्तरोन्नति भइरहेको भैरहवा–लुम्बिनी रोडमा सवारी चाप बढ्दो छ। जसको भारलाई पुराना साँगुरा र जिर्ण पुलले थेग्न सकिरहेको छैन। पुलमा सवारी अवागमन एकतर्फी बनाइएको छ। त्यसले सवारी आवागमनमा समस्या भइरहेको ट्राफिक प्रहरी बताउँछ।
जिर्ण र साँगुरा पुलकै कारण जाममा पर्नुका साथै धुलोको समेत समस्या बढ्दा लुम्बिनी आउने पर्यटकमा नकारात्मक असर परेको लुम्बिनीका पर्यटन व्यवसायीको गुनासो छ। नयाँ ठेक्का सम्झौता गरिएका पुलको निर्माणमा अब ढिलासुस्ती गरिए आफूहरु चुप लागेर नबस्ने लुम्बिनीका स्थानीय बताउँछन्।
लुम्बिनीका प्रदेश सांसद फकरुद्धिन खाँनले यसअघि ठेकेदार कम्पनीको लापबाहीलाई नजर अन्दाज गरीदिँदा भैरहवा लुम्बिनी रोडका दुई पुल वर्षौ अलपत्र परेको भन्दै सम्बन्धित निकायले सुरुदेखि नै निर्माण कम्पनीलाई सजग गराउनु पर्ने बताए।
यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो



















प्रतिक्रिया दिनुहोस्