मोहर्रम पर्वको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी चाँदबाबु राहीले करिब ८५ फिट उचाइको ताजिया स्थापना गर्नुभएको छ । यो वर्ष रु ६० हजारमा भारतको आलिनगरबाट खरिद गरेर ताजिया ल्याइएको हो । राहीले जस्तै बाँकेका अन्य मुसलमान समुदायका व्यक्तिले पनि आफ्नो गच्छेअनुसारको ताजिया घरमा स्थापना गरेका छन् । राहीले चन्दा अथवा दानबाट नभई आफ्नो निजी रकम खर्च गरेर अग्लो ताजिया राख्ने गरेको बताउनुभयो । “मैले आफ्नै खर्चमा ताजिया लगाउने गरेको छु”, राहीले भन्नुभयो, “८५ फिटको उचाइ रहेको यो बाँके जिल्लामा सबैभन्दा ठूलो ताजिया हो ।” बाँकेमा मात्रै रु एक करोडभन्दा बढीका ताजिया राखिएको राहीको अनुमान छ । मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिक रुपमा आज घर नजिकै रहेका कर्बलाहरुमा विसर्जन गरेर बगाउने गर्छन् । नेपालगञ्जमा मुस्लिम, हिन्दू तथा अन्य जातिले पनि आ–आफ्नो घरअगाडि ताजिया राखेर पूजाआजा गर्ने गर्छन् । मोहर्रमको अन्तिम दिन घरघरमा राखिएका ताजिया बोकेर स्थानीय कर्बलामा पुगी ताजिया सेलाएपछि मोहर्रम सकिन्छ । आफ्नो आर्थिक हैसियतअनुसार ताजिया स्थापना गरिने परम्परा भए पनि पछिल्ला केही वर्ष ठूलो ताजिया राख्ने अस्वस्थ प्रतिस्पर्धा देखिएको मौलाना अब्दुल जब्बार मञ्जरीको भनाइ छ । उहाँले सानो–ठूलो जस्तो ताजिया राखे पनि विसर्जन गरिने भएकाले ठूलै राख्नुपर्ने कुनै जरुरी नरहेको बताउनुभयो । हिन्दूलगायत अन्य धर्म समुदायले समेत मनाउन थालेपछि मोहर्रम पर्व धार्मिक सद्भावका रुपमा विकसित हुँदै गएको छ । भाकल गरी घरमा स्थापना गरिएको ताजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, समृृद्धि तथा मनोइच्छा पूरा हुने विश्वास रहेको उहाँले बताउनुभयो ।—रासस




















प्रतिक्रिया दिनुहोस्