जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ८६ घर निर्माण गरिएको छ । आर्थिक दुरावस्थाका कारण घर बनाउनसक्ने हैसियत नभएका व्यक्तिको घर निर्माण गरिएको हो । जिल्लाका १० वटै पालिकामा उक्त कार्यक्रमअन्तर्गत घर निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी एवं इञ्जिनीयर धनमाया मिश्रले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५÷७६ मा सङ्घ सरकारमार्फत जनता आवास कार्यक्रम हस्तान्तरण भएपछि उक्त कार्यालयले घर निर्माण थालेको उहाँले बताउनुभयो । निर्माण गरिएका घरमध्ये दोस्रो किस्तामा चार, तेस्रो किस्तामा ५२ र अन्तिम किस्ता लैजान बाँकी एक सय ४२ घरपरिवार रहेका छन् । उक्त कार्यक्रमका लागि रु एक करोड ५७ लाख बजेट विनियोजन गरिएको थियो । दुई सरकारी भवन निर्माण पूर्वाधार विकास कार्यालयले सम्झौता भएका दुईवटै भवन निर्माण गरेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको भवन रु दुई करोड ३० लाख ५१ हजारको लागतमा निर्माण भएको हो । विसं २०७७ असोज १ गते सम्झौता गरिएकामा उक्त भवन विसं २०७८ फागुन ३० गते निर्माण गरिएको हो । त्यसैगरी भिमाद सामुदायिक भवन रु एक करोड ३३ लाख ६३ हजारको लागतमा निर्माण गरिएको छ । भवनको ढाँचामा थप गर्नुपरेका कारण सम्झौताभन्दा बढी लागत वृद्धि हुन गएको इन्जिनीयर मिश्रले बताउनुभयो । दुई झोलुङ्गे पुल निर्माण जिल्लामा निर्माणाधीन तीन वटा झोलुङ्गे पुलमध्ये दुई पुल निर्माण गरिएकोे छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ मा रु ७७ लाख ७१ हजारको लागतमा एउटा झोलुङ्गे पुल निर्माण गरिएको हो । जिल्लाको भानु नगरपालिका–३ खहरेदेखि नारायणचौर गोरखा जोड्ने सो पुल रु एक करोड २६ लाख ५० हजारको लागतमा सम्पन्न गरिएको र यसबाट सयौँ मानिस लाभान्वित भएको बताइएको छ । व्यास नगरपालिका–५ र १० जोड्ने मादीनदीमाथि निर्माण गरिएको झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पुल निर्माणका लागि विसं २०७६ पुस ६ गते सम्झौता भए पनि विद्युत्को हाइटेन्सन सार्ने विषयमा विवाद हुँदा पुल निर्माणमा ढिलाइ हुन गएको कार्यालय प्रमुख दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो । अहिले विद्युत्का खम्बा सार्नका लागि जग्गा दिने सहमति भएपछि निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको उहाँले बताउनुभयो ।रासस




















प्रतिक्रिया दिनुहोस्