हेटौंडा । आगामी माघ १० गतेबाट १७ गतेसम्म हुने चौंथो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि ५२ जना स्थानीय खेलाडी छनौट भएका छन् । शनिबार भएको लिलामी कार्यक्रमबाट कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि ५२ जना स्थानीय खेलाडी छनोट भएका हुन् । हेटौंडा–४,स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्ट सोसिएल एण्ड साइन्सको मुख्य प्रयोजनमा हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहने लिलामी कार्यक्रम मार्फत जानकारी गराइएको छ ।

प्रतियोगितामा सहभागी हुने १३१ जना सूचीकृत खेलाडीमध्ये प्रत्येक टिमले २ जना मार्की खेलाडी (जसमध्ये १ जना स्थानीय खेलाडी अनिवार्य) छनौट गरेको क्लबका अध्यक्ष किशोर खत्रीले बताए । लिलामी कार्यक्रम पुर्व प्रत्येक क्लबले आफ्‌नो टिम कप्तान छनौट गरिसकेको अध्यक्ष खत्रीले बताए । प्रतियोगिता हेटौंडा–८,स्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।

यस संस्करणमा नेपाल प्रिमियर लिग (एनपीएल) खेलेका जनकपुर बोल्ट्सका खेलाडी शुभ कंशकारले समेत कमाने प्रिमियर लिग खेल्ने भएका उनले बताए । उनका अनुसार प्रतियोगिताका लागि छनौट भएका ५२ खेलाडी बाहेक अन्य खेलाडी ट्यालेन्ट हन्ट तथा अन्य प्रक्रियामार्फत ६ वटै टिमले आवश्यकताअनुसार खरिद गर्न पाउने व्यवस्था गरिएको छ।

आयोजकका अनुसार प्रतियोगिताले स्थानीय क्रिकेट प्रतिभालाई प्रोत्साहन गर्दै प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने लक्ष्य लिएको छ । खेल संयोजक एवंम क्लबका सचिव विष्णु दहालको सभाध्यक्षतामा हेटौंडा–८ का वडाध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा वडा सदस्य गोरथनाथ राय, बागमती प्रदेश क्रिकेट संघका उपाध्यक्ष प्रेम केसी, क्रिकेटका राष्ट्रिय अम्पायर विनोद वानियाँ, प्रदेश खेलकुद विकास परिषद्का सदस्य संगीत श्रेष्ठ, नगर खेलकुद समिति सदस्य यज्ञ राय, वडा खेलकुद समिति अध्यक्ष उमेश थापा , कमाने फुटबल एकेडेमीका अध्यक्ष रमेश थापा लगायतको उपस्थिति रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी