हेटौंडा उपमहानगरमा अनलाईन जुवा खेलेको आरोपमा १२ जना पक्राउ परेका छन् ।

बागमती प्रदेशको राजधानी हेटौंडा ४ कमलडाँमा अवैध रुपमा अनलाईन गेम खेल्ने र खोलाएको आरोपमा मकवानपुर प्रहरीले १२ जनालाई पक्राउ गरेको हो ।

कमलडाँ ४ स्थित सुर्य प्रसाद टेक्नोलोजि प्रा.लि.मा पैसाको हार जित हुने गरी गेम खेल्ने र खोलाउने गरेकै अवस्थामा असार १३ गते १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै जानकारी दिए अनुसार पक्राउ पर्नेहरुमा हेटौंडा ९ का २३ वर्षीय निशान आचार्य, ४ का २४ वर्षीय राजिव गौतम,११ का मधुकर बानिया,१४ चुरीयामाईका २४ वर्षीय निमा थिङ,१२ का २३ वर्षीय विकाश बल, मकवानपुरको मनहरी ४ मसिनेका २० वर्षीय जोसिल खत्री,गोरखा पालुङटार का २२ वर्षीय डुलास तामाङ,सोही ठाउँका २० वर्षीय तिकमान तामाङ २१ वर्षीय राजु तामाङ २५ वर्षीय अमोश तामाङ र बारा निजगढ ४ का २० वर्षीय अर्पण खड्का रहेका छन् ।

उनिहरुको साथबाट १ सय १० थान मोबाईल,५ थान डेस्कटप कम्प्युटर,३ थान ल्यापटप,४ थान राउटर र नगद १ लाख ४५ हजार ७५ रुपैया बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले बताए ।