ट्वान्टी–२० विश्वकप क्रिकेटमा छनोट हुन नसकेको नेपालको घाउ अझै सुक्न पाएको छैन । अघिल्लो महिना ओमानमा ट्वान्टी–२० विश्वकप छनोट यात्रामा यूएई नेपालको अवरोध बनेको थियो । प्रतियोगितामा उत्कृष्ट खेले पनि नेपाललाई निर्णायक खेल ९सेमिफाइनल० मा यूएईले कुनै अवसर नै दिएको थिएन ।

पपुवा न्युगिनीविरुद्धको खेलमा फिल्डिङ गरेपछि नेपाली क्रिकेट टोली । फाइल तस्बिर स् आईसीसी

एउटै हारले नेपाल ट्वान्टी–२० विश्वकपमा पुग्न असफल भएको थियो । त्यही यूएईलाई उसैको भूमिमा हराएर नेपालले थोरै भए पनि मलमपट्टी लगाउने अवसर पाएको छ । यूएईले विश्वकप लिग २ को खेलमा शुक्रबार नेपाललाई दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आतिथ्यता दिँदै छ । यूएई आउने–जाने निरन्तर रहे पनि नेपालले दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो पटक खेल्न लागेको हो ।

 

ट्वान्टी–२० र एकदिवसीय फरक भएकाले विगतसँग खासै सरोकार नहुने नेपालका प्रशिक्षक पुबुदु दासानायके बताउँछन् । ‘मलाई लाग्छ दबाब यूएईलाई हुनेछ, हामी अन्डरडगका रूपमा मैदान उत्रन्छौं,’ दासानायकेले दुबईबाट भने, ‘उनीहरू राम्रो फर्ममा छन् । तर हामीसँग यूएईलाई झेल्ने आफ्नै योजना छ । त्यो योजना मैदानमा उतार्नुपर्ने समय हाम्रो हो ।’

यूएई र नेपाल दुवैले पहिलो खेलमा पपुवा न्युगिनी ९पीएनजी० लाई पराजित गरेका थिए । सन् २०२३ को विश्वकप छनोटको आधार रहेको लिग २ को अंकतालिकामा यूएई दोस्रो र नेपाल छैटौं स्थानमा छन् । सात राष्ट्रसम्मिलित लिग २ मा यूएईको १५ खेलको तुलनामा नेपालले ९ खेलमात्र खेलेको छ । त्यसैले अंकतालिकामा माथि उक्लन नेपालका लागि यूएईसँगको खेल निकै महत्त्वपूर्ण छ । यूएईसँग दुई र पीएनजीसँगको एक गरी यस शृंखलाको तीनमध्ये दुई खेल जित्ने हो भने पनि नेपालले अमेरिका र नामिबियालाई उछिन्दै चौथो स्थानमा पकड राख्नेछ ।

सन् २०१८ मा विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएयता नेपालले यूएईसँग चारपल्ट खेलेको छ र त्यसमा दुवै टोलीले २–२ मा जित हात पारेका छन् । २०१८ को अगस्ट ३० मा यी दुई टोली पहिलो पटक भिडेका थिए, त्यसमा यूएई ७८ रनले विजयी भएको थियो । यूएईलाई विजय दिलाउनेक्रममा अहमद राजा ४ विकेट लिँदै प्लेयर अफ द म्याच बनेका थिए ।

 

अहिले यूएईका कप्तान राजा हुन् । नेपाललाई ट्वान्टी–२० विश्वकपमा पुग्नबाट रोक्ने पनि उनै राजा हुन् । ओमानमा अघिल्लो महिना ट्वान्टी–२० विश्वकप छनोटमा नेपालविरुद्ध यूएईलाई विजय दिलाउँदा राजाले १९ रन खर्चेर ५ विकेट लिएका थिए, जुन ट्वान्टी–२० मा उनको उत्कृष्ट बलिङ प्रदर्शन थियो ।

नेपालले सन् २०१९ मा यूएई गएर द्विपक्षीय शृंखला खेलेको थियो । पहिलो खेलमा ३ विकेटले पराजित भए पनि बाँकी दुई खेल जितेर नेपालले शृंखला आफ्नो पक्षमा पारेको थियो । सोमपाल कामीले दोस्रो खेलमा ५ विकेट र पारस खड्काले तेस्रो खेलमा शतक बनाउँदै नेपाललाई विजयी गराएका थिए । जतिबेला सोमपालको ५ विकेट र पारसको शतक एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको हकमा पहिलो थियो ।

आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा उक्त शृंखला खेलेका खेलाडीमा पारस, ललितनारायण राजवंशी, सन्दीप जोराबाहेक बाँकी ८ खेलाडी वर्तमान नेपाली टोलीमा छन् । तर भेट्रान खेलाडीहरू ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीमाथि ठूलो इनिङ्स नखेल्दा दबाब थपिएको छ । तुलनात्मक रूपमा कमजोर मानिएको पपुवा न्युगिनीविरुद्ध पूर्वकप्तान ज्ञानेन्द्र ४ र विनोद ११ रनमा आउट भएका थिए ।

यस्तोमा प्रशिक्षक दासानायकेले भीम सार्कीलाई मध्यक्रममा प्रयोग गर्ने सम्भावना बलियो देखिन्छ । प्रभावशाली प्रदर्शन गर्दै आएका तीव्र गतिका बलर कमलसिंह ऐरीलाई नेपालले पीएनजीसँगको खेलमा खेलाएको थिएन । चोटका कारण ट्वान्टी–२० विश्वकप छनोट गुमाएका करण केसी र सोमपाल कामीले नयाँ बल लिएका थिए । सोमपालले ३ विकेट लिएका थिए भने अन्तिममा खेलको नायक बनेका करणले अविजित २९ रन बनाएका थिए । ‘डेब्यु’ गरेका सागर ढकाल खासै जम्न सकेनन् । कमललाई स्थान दिन सकिने दासानायके जनाउँछन् ।

यो समाचार कान्तिपुर बाट साभार गरिएके हो