हेटौंडा । बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रलाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ। देओल परिवारले उनलाई घरमै आरामका लागि लगेको जनाएको छ। परिवारले घरमै उपचार जारी राख्ने निर्णय गरेपछि डाक्टरले पनि अबदेखि आवश्यक सबै उपचार घरमै हुने जानकारी दिएका छन्। यसबारे अस्पतालले आधिकारिक विज्ञप्ति जारी गर्दै धर्मेन्द्रको स्वास्थ्यबारे अनावश्यक अनुमान नगरिदिन अनुरोध गरेको छ।

विज्ञप्तिमा भनिएको छ– “धर्मेन्द्रजीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। उहाँ अब घरमै आराम र उपचारमा रहनुहुनेछ। कृपया कुनै पनि अटकलबाजी नगर्नुहोला र उहाँ तथा परिवारको गोपनीयताको सम्मान गरिदिनुहोला।” धर्मेन्द्रको स्वास्थ्य स्थिति बारे जानकारी दिँदै डा. प्रीतित सम्दानीले भने, “बिहान ७:३० बजे धर्मेन्द्रजीलाई डिस्चार्ज गरिएको हो। परिवारको निर्णयअनुसार उहाँको उपचार घरमै जारी रहनेछ।”

गत सोमबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। मंगलबार उनको निधन भएको हल्ला फैलिएपछि पत्नी हेमा मालिनी र छोरी इशा देओलले ती सबै समाचार असत्य भएको बताउँदै धर्मेन्द्र अझै उपचाररत रहेको स्पष्ट गरेका थिए।

रातो समाचार संवाददाता
थप जानकारी