नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । साउनको पहिलो सातासम्ममा जिल्लामा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो । जिल्लाको तल्लो क्षेत्र गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, हुप्सेकोट, विनयी त्रिवेणीमा भने करिब ९० प्रतिशत धान रोपाइँ सकिएको छ । पहाडी क्षेत्रमा पर्ने बौदिकाली, बुलिङटारमा भने सरदर कम रोपाइँ भएको सूचना अधिकारी पौडेलले बताउनुभयो । असार मसान्तसम्ममा सबै क्षेत्रमा रोपाइँ ९० प्रतिशत कट्नुपर्ने भए पनि असारमा पानी कम परेका कारणसमेत रोपाइँ ढिलो भएको छ । कतिपय चैतेधान लगाएका, मकै लगाएका किसानले अब बल्ल रोपाइँको तयारी गरेको उहाँले बताउनुभयो । साउन १५ गतेसम्ममा जिल्लामा रोपाइँ सकिने उहाँको भनाइ छ । “धेरैजसो किसानले धान रोपाइँ सकेका छन्, चैते धान लगाएका, मकै लगाएका किसान भने अब रोपाइँको तयारीमा छन्”, सूचना अधिकारी पौडेलले भन्नुभयो, “साउन १५ सम्म नवलपुरमा लगभग रोपाइँ सकिन्छ ।” नवलपुरमा शतप्रतिशत धान रोपाइँ हुने अनुमान गरिएको सूचना अधिकारी पौडेलले बताउनुभयो । धान लगाउने समय अझै बाँकी रहेकाले शतप्रतिशत रोपाइँ सम्पन्न हुने अनुमान गरिएको उहाँले बताउनुभयो । जिल्लामा स्थानीय जातका धान सावित्री, सावा, रामधान बढी मात्रामा लगाइएको सूचना अधिकारी पौडेलले बताउनुभयो । केही मात्रामा हाइब्रिड धानसमेत लगाइएको उहाँले जानकारी दिनुभयो । गतवर्ष बीउका कारण कतिपय धानमा बाला नलागेकाले समस्या परेकाले अहिले बीउ छर्ने सिजनमा नै एग्रोभेटलाई सूचीकृत नभएका धान बिक्री वितरण नगर्न भनिएकाले यस पटक त्यस्तो समस्या नआउने सूचना अधिकारी पौडेलले बताउनुभयो । “बीउका कारण कहिलेकाहीँ धान उत्पादनको समयमा बाला नलाग्ने लगायतका समस्यादेखिने गर्दछ, त्यस्तो नहोस् भन्नका लागि हामीले जिल्लाका एग्रोभेटलाई सूचीकृत नभएका बीउबिक्री नगर्न सचेत गराएका थियौँ”, सूचना अधिकारी पौडेलले भन्नुभयो, “अहिले बीउका कारणले उत्पादनमा समस्या पर्दैन ।” नवलपुरको तल्लो क्षेत्र गैँडाकोट, अमरापुरी, हर्कपुर, रजहर, दलदले, कावासोतीको पिठौँली, अग्यौली, मध्यविन्दु ,कोल्हुवा, क्षेत्रमा धेरै धानखेती लगाउने गरिन्छ । नवलपुरमा १८ हजार ८१६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाउने गरिन्छ । –––रासस



















प्रतिक्रिया दिनुहोस्