वडाध्यक्ष कप फुटबल प्रतियोगिताको खेलतालिका ।

हेटौंडा । हेटौंडामा तेस्रो संस्करणको १५ नम्बर वडाध्यक्ष कप फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु हुने भएको छ । हेटौंडा–१५ वडा खेलकुद विकास समितिको आयोजनामा तथा वडा कार्यालयको प्रयोजनमा शुक्रबारबाट सुरु हुन लागेको फुटबल प्रतियोगिताको खेलतालिका सार्वजानिक गरिएको छ । बुधबार वडा कार्यालयमा गोला वडाध्यक्ष सुनिल मोक्तानको उपस्थितिमा खेलतालिका सार्वजानिक गरिएको हो । प्रतियोगिताको उद्घाटन खेलमा चुरियामाइ–३ र चुरियामाइ–८ बीच प्रतिस्पर्धा हुनेछ ।

हेटौंडा–६,स्थित गौरिटार रंगशालामा हुने खेल दिउँसो २ बजेबाट सुरु हुने वडा खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगीले जानकारी दिएका छन् । आफ्नो वडाभित्र खेलाडी उत्पादन गर्न र १५ नम्बर वडाको टिम तयार पार्नका लागि प्रतियोगिताको आयोजना गर्न लागेको अध्यक्ष नेगीले बताए ।

प्रतियोगितमा ७ वटा टिमहरुको सहभागिता रहेको अध्यक्ष नेगीले बताए । प्रतियोगिताको उद्घाटन वडाध्यक्ष सुनिल मोक्तानले गर्नेछन् । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको फाइनल खेल असार १६ गते हुनेछ । प्रतियोगिता सम्पन्न गर्नका लागि ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । दोस्रो संस्करणको अन्तरवडास्तरीय फुटबल प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका १७ वटा वडाहरुको सहभागिता रहेको थियो भने १२ नम्बर वडा उपाधि विजेता बनेको थियो ।