
हेटौंडा । प्रदेश युवा परिषद्, बागमतीको आयोजनामा हेटौंडामा तेस्रो प्रदेश युवा सम्मेलन सुरु भएको छ । आइतबारबाट हेटौंडा–२,स्थित होटल एभोक्याडोमा सुरु भएको प्रदेश युवा सम्मेलनको उद्धाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गरेका छन् । ७ प्रदेशबाट ३ सय भन्दा बढी युवाहरुको सहभागिता सुरु भएको युवा सम्मेलन आउँदो मंगलबार सम्म सञ्चालन हुनेछ । यस अघि पहिलो र दोस्रो युवा सम्मेलन बागमती प्रदेशभित्रका युवाहरुले सहभागिता जनाउन पाउनेगरी आयोजना गरेकोमा यस वर्ष राष्ट्रिय रुपमा सम्मेलनको आयोजना गरिएको हो ।
युवालाई व्यवहारिक विषयमा ज्ञान र सञ्जाल विस्तारको अवसर प्रदान गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको युवा सम्मेलनमा अनलाइन उद्यमशीलता, सहकारी व्यवस्थापन, कृषि उद्यमी, व्यवसायी सीप विकासको विषयमा कार्यशालाको आयोजना र मुख्यमन्त्रीसँग युवाको संवाद समेत गरिने छ । सम्मेलन उद्धाटन समारोह पूर्व प्रभातफेरीको समेत आयोजना गरिएको थियो । युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं अध्यक्षतामा भएको उद्घाटन समारोहमा खेलकुद मन्त्री मीनकृष्ण महजर्नको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्