हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा आज शुक्रबारबाट सुरु भएको दोस्रो वृह्त खेलकुद, कृषि तथा पर्यटन महोत्सवको १० किलो मिटरदौडमा पुरुषतर्फ मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नम्बर–१ का सुवास हेम्जन प्रथम भएका छन् भने महिलातर्फ हेटौंडा वडा नम्बर–१३ की साधना लोप्चन प्रथम भएकी छिन् । शुक्रबार हेटौंडा–१०,स्थित टिसीएन चौरमा बिहान महोत्सवको उद्धाटनको पूर्व सन्ध्यामा भएको १० किलोमिटर दौडमा पुरुषतर्फ बकैया गाउँपालिका वडा नम्बर–८ का राजकुमार सन्दीप विश्वकर्मा र महिलातर्फ हेटौंडा–१३ की अमृता मोक्तान द्वितीय भएका छन् ।
पुरुषतर्फ मनहरी गाउँपालिका वडा नम्बर–८ का राजकुमार गोले तृतीय हुँदा महिलातर्फ हेटौंडा–४की सुविना गोले तृतीय भएकी छिन् । राक्सिराङ्ग १ की निलिमा थिङ सान्त्वना भइन् । प्रतियोगितामा प्रथमदेखि सान्त्वना हुने सम्मका खेलाडीहरुलाई क्रमशः२० हजार, १० हजार, ५ हजार र एकहजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रको प्रदान गरिएको खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिएका छन् । जीतको लक्ष्यसहित १० किलोमिटरको यात्रा सुरु गरेका अन्य ६ प्रतिस्पर्धीलाई सहजै उचिन्दै दुबै प्रतियोगी पहिलो हुन सफल भएका थिए ।
हेटौंडा–१०,स्थित टिसीएन चौरबाट दौड सुरु गरेर मेनरोड, बुद्धचोक, कान्तिलोकपथ, माछाप्लानबाट पिप्लेक्याम्पा रंगशाला हुँदै शान्तिनगर गर्दोही कर्राचोक हुँदै मेनरोडबाट पुन महोत्सवको स्थानमा आएर १० किलोमिटर दौडको समापन गरिएको थियो । दौडमा नेपाल एथ्लेटिक्स संघका केन्द्रीय सदस्य प्रभाकर पाण्डे, राष्ट्रिय निर्णायक राजाराम पोखरेल र रञ्जिता फूयाँलले दौड निर्णायकको भूमिका निर्वाह गरेका थिए । खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले दौड प्रतियोगिताको उद्धाटन गरेका थिए ।
आजै हेटौंडा–११ थानाभर्याङस्थित कभर्ड हलमा जिल्लास्तरीय व्याड्मिन्ट्न प्रतियोगिता सुरु भएको थियो । मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गीले ब्याड्मिन्टन प्रतियोगिताको उद्घाटन गरेका हुन् । ब्याड्मिन्टन प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १० हजार तथा सान्त्वनाले ५/५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेलकुदका सदस्य मदन उप्रेतीले बताए । शनिबार महोत्सवमा चर्चित गायक राजनराज शिवाकोटी र गायिका बबिना किराँतीको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।




















प्रतिक्रिया दिनुहोस्