पार्टीभित्रको फरक धारको बिचारलाई अवमूल्यन गर्दै नेपाली कांग्रेसले वर्तमान सत्तागठबन्धनलाई चुनावसम्मै कायम राखेर अघि बढ्ने निर्णय गर्यो। कांग्रेसको यो निर्णय बमोजिम स्थानीय तहदेखि प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनसम्मै गठबन्धनमा आबद्ध दलहरुबीच चुनावी तालमेल हुने संकेत बलियो रुपमा देखा परिसकेको छ।

त्यसोत, बिहीबार बसेको गठबन्धनको बैठकले स्थानीय तहदेखि प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जानका लागि चुनावी संयन्त्र बनाउने निर्णय गरिसकेकाले गठबन्धनको आयूलाई आगामी निर्वाचनसम्मका लागि ‘क्लियर’ जस्तै गरिदिएको छ।

तर फरक धारको बिचारलाई बेवास्ता गरेरै गठबन्धनमा जाने पार्टी नेतृत्वको निर्णयले कांग्रेसलाई दुई जटिल मुद्दाका बिषयमा मतदाता समक्ष ‘फेस’ गर्नुपर्नेदेखिएको छ। आगमी चुनावमा आफ्नो माहोल सहज बनाउनका लागि अहिले कांग्रेसले एमसिसीका पक्षमा मतदातालाई ‘कन्भिन्स’ गरिरहेको छ। एमसिसी पास गर्न निर्णायक बनेको कांग्रेसले अहिले गाउँगाउँमा पुगेर एमसिसीलाई ‘सही’ सावित गर्न हर प्रयत्न गरिरहेको छ।

तर एमसिसीका बिपक्षमा बनेको ठूलो हिस्साको मानसिकता बदलिईसकेको भने छैन। ‘पार्टीले सही त भनेको छ, तर यो जायज चाहीँ हैन भन्ने मानसिकता कांग्रेसका स्थानीय तहका सामान्य कार्यकर्तामा बनेको छ,’ घोराही उपमहानगरका एक वडा स्तरका कांग्रेस नेताले भने, ‘कांग्रेसका कार्यकर्ताहरुको धारणा त सकारात्मक बनेको देखिन्न भने अन्य सामान्य मतदाताहरुलाई झन कसरी फेस गर्ने?’

एमसिसीबारे सकारात्मक बुँदा उल्लेखित दस्ताबेजसहित गाउँ छिरेको नेपाली कांग्रेसका लागि अर्को झन् प्रमुख चुनौतीको बिषय गठबन्धन कायम राख्ने निर्णय बनिदिएको छ। अहिले कम्यूनिष्ट पार्टीहरु सांगठनिक रुपमा कमजोर रहेको र कम्यूनिष्ट नेतृत्वको सरकारका पालमा भएका खराव कदमका कारण आममतदाताको रोजाईमा कांग्रेस निर्विकल्प रहेको आँकलन कांग्रेसभित्रको ठूलो तप्काले गरिरहेको थियो। त्यसोत, गत निर्वाचनमा गुमाउनु परेको जनमत पार्टी प्रति पुनर्जागृत भए नभएको पहिचान गर्ने कांग्रेसलाई थियो। तर गठबन्धन भएपछि अब यी दुबै बिषयको एकल परीक्षणबाट कांग्रेस बञ्चित बनेको महसुस कांग्रेसीहरुले गरेका छन्। ‘हिँजोको चुनावमा हारेको कांग्रेस ,त्यसयताको अवधिमा कुन अवस्थामा पुग्यो भन्ने परीक्षणका लागि अहिलेको निर्वाचन अवसर बनेको थियो,’ घोराही उपमहानगरपालिका वडा नम्बर १७ का पूर्व वडासभापति सन्तोष योगीले भने ‘गठबन्धन गरेर कांग्रेसले आफ्नो शक्ति पहिचान गर्ने अवसर त गुमायो नि, सांगठनिक अवस्थाबारे एकिन नभए कांग्रेसले कसरी आफूलाई ठूलो दलका रुपमा वा सानो दलका रुपमा पहिचान गर्ने?’

तथापी पार्टीको केन्द्रीय समिति बैठकको निर्णय बमोजिम दाङ कांग्रेसले गठबन्धन कार्यान्वयनका बिषयमा आन्तरिक परामर्श गरिसकेको भने छ। बिहीबार वडादेखि जिल्ला कार्यसमितिका प्रतिनिधिहरुबीच दाङ कांग्रेसले गठबन्धन कार्यान्वयनको बिषयमा ठूलो छलफल गरेको छ। तर गठबन्धन विरोधी ठूलो कांग्रेसी तप्कालाई गठबन्धनको बारेमा सकारात्मक धारणा बनाउनका लागि कांग्रेस नेतृत्वलाई चुनौती भने छ।

गठबन्धन हुनुहुँदैन भनेर गाउँतहमा बसेका कांग्रेसीहरुले सहजै गठबन्धनलाई स्वीकार्न सक्ने वातावरण नबन्ने स्थानीय तहका नेताहरुको बुझाई छ। ‘रुखमा हैन, फरक चुनाव चिन्हमा भोट हाल्नु होला भनेर कसले कन्भिन्स गर्न सक्छ?’ घोराही १७ का निवर्तमान वडा सभापति योगीले भने, ‘अनि अहिलेसम्म रुख र कांग्रेस जप्दै बसेका साथीहरु कसरी गठबन्धनका पक्षमा सहमत हुन सक्छन्?’

नेविसंका कार्यबाहक जिल्ला अध्यक्ष टोपबहादुर बुढाथोकीले पनि रुख चिन्ह र कांग्रेसको नारा घोकेर पार्टी राजनीतिमा प्रवेश गरेको युवा तप्काले अर्को चुनाव चिन्ह रोज्न मुश्किल पर्ने दाबी गर्छन्। आफूहरुले नै कांग्रेसको सिद्धान्त घोकाएर नेविसंघमा आबद्ध गराएको नयाँ पुस्ताले कसरी फरक दलको चिन्हमा मत हाल्न सक्छ? भन्दै प्रश्न गरे। ‘हिँजो हामीहरुले कांग्रेसको सिद्धान्त पढायौँ र नेविसंघमा नयाँ पुस्तालाई प्रवेश गरायौँ,’ उनले भने, ‘अनि कांग्रेसको सिद्धान्तबारे पढेको त्यो नयाँ प्रवेशी जमातले कसरी कांग्रेस बाहेक अरु पार्टीको चुनाव चिन्हलाई मायाँ गर्न सक्छ? अनि हिजो कांग्रेसको सिद्धान्त सिकाउने हामीहरुले नै त्यो समूहलाई कसरी फरक दललाई भोट हाल्नु भनेर भन्ने?’

त्यसोत, गठबन्धनको बिपक्षमा रहेको तप्कालाई पनि गठबन्धनका पक्षमा पार्नै पर्ने बाध्यता कांग्रेसका सामु छ। फलतः सबै कांग्रेस कार्यकर्ताहरुलाई गठबन्धनको पक्षमा रहेर निर्वाचनमा खट्ने वातावरण निर्माण हुने लुम्बिनी प्रदेश कांग्रेस सभापति अमरसिंह पुनले जानकारी दिए। ‘स्थानीय तहमा आवश्यक्ताका आधारमा गठबन्धन गरिनुपर्छ भन्नेमा पार्टीका सबै साथीहरुलाई कन्भीन्स गरिन्छ,’ पुनले भने, ‘यो आवश्यक्ता बोध सबैले गर्नु पनि पर्छ।’ कांग्रेसको मत संख्याको मूल्यांकन गरेर कांग्रेस कमजोर हुने स्थानमा मात्रै कांग्रेसले अन्य दललाई उम्मेदवारी छोडिदिने पुनको भनाइ छ।

‘कांग्रेसको मतभार बढि हुने स्थानमा कांग्रेसले उम्मेदवारी छोड्दैन,’ उनले भने, ‘पार्टी केन्द्रीय समितिको निर्णय पनि आफू कमजोर हुने स्थानमा मात्रै अन्य दललाई उम्मेदवारी छोडिदिने भन्ने नै हो,यसै अनुसार गठबन्धन गरिन्छ।’ उनका अनुसार अहिले जिल्लाजिल्लामा कांग्रेसको स्थान कस्तो हुने भन्नेबारेमा तल्लो तहका पार्टीका नेताहरुबाट जानकारी तथा सुझाव लिने काम भैरहेको छ।यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो