हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको अयोजनामा भोलि शुक्रबारबाट सुरु हुन दोस्रो, कृषि पर्यटन तथा खेलकुद महोत्सवमा ६ विधाका खेलहरु सञ्चालन हुने भएको छ । हेटौंडा–१०,स्थित टिसीएन चौरमा भोलि फागुन २९ गते देखि चैत १४ गतेसम्म सञ्चालन हुने खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा ६ विधाका खेलहरु सञ्चालन हुने भएको हो । महोत्सवको उद्धाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्ने खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले जानकारी गराएका छन् । महोत्सवका लागि आवश्यक तयारी पूरा गरिरहेको छ ।

भोलि शुक्रबार र शनिबार जिल्लास्तरीय व्याड्मिन्ट्न प्रतियोगिता हुने अध्यक्ष मोक्तानले बताए । भोलि शुक्रबारनै जिल्लास्तरीय महिला र पुरुष १० किलोमिटर दौड प्रतियोगिता, चैत्र १ देखि ३ गतेसम्म जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता, चैत्र ४ देखि ८ गतेसम्म राष्ट्रिय महिला भलिबल प्रतियोगिता, ९ र १० गते जिल्लास्तरीय कराँते प्रतियोगिता तथा चैत्र ११ देखि १३ गतेसम्म राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने उनले बताए । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले २ लाख तथा सेमिफाइनल खेल्ने २ टोलीले समान ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र अन्य विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता, उपविजेतालाई क्रमशः नगद १ लाख र ५० हजार तथा सेमिफाइनल पुग्ने टोलीलाई समान १५ हजार रुपैयाँ प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार तथा अन्य विधागत उत्कृष्टलाई नगदसहित पुरस्कारको व्यवस्था रहेको आयोजक खेलकुद विकास समितिका सदस्य मदन उप्रेतीले बताए । ब्याड्मिन्टन प्रतियोगिता भने हेटौंडा ११ थानाभ¥याङस्थित कभर्ड हलमा आयोजना गरिनेछ । ब्याड्मिन्टन प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १० हजार तथा सान्त्वनाले ५÷५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दौड, तेक्वान्दो र करातेका विजेतालाई समेत नगद, ट्रफी र प्रमाणपत्रको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ ।

अहिले महोत्सव स्थलको घेराबारासहित स्टेज, स्टल, खेल मैदान, बाल उद्दान लगायतका संरचना निर्माणको काम भैरहेको छ । महोत्सव सञ्चालनमा करिब ८० लाख रुपैयाँ खर्च हुने बताइएको छ । ४ सयवटा व्यावसायिक स्टल रहने महोत्सवमा खेल, व्यापार, कृषि र पर्यटनलाई एउटै थलोमा जोड्ने उद्देश्य आयोजकको छ । महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांगीतिक प्रस्तुति रहनेछ । खेलकुद महोत्सवमा खेल क्षेत्रका १० जनालाई जनही नगद २५ हजार रुपैयाँसहितम सम्मान गर्ने तयारी समेत रहेको छ । महोत्सवबाट बचेको रकम खेलकुद विकास समितिको भवन निर्माणमा लगाइने उनले बताए ।

रातो समाचार संवाददाता
थप जानकारी