हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकालाई कार्यक्षेत्र बनाई स्वास्थ्य र सरसफाइका क्षेत्रमा क्रियाशील रहेको प्रेम सेवा समाजको अध्यक्षमा पुनः मीरा स्याङ्तान चयन भएकी छन् । समाजको १५औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले स्याङ्तानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दलमान गुरुङ, सचिवमा रामसिं प्रजा, सहसचिवमा निरोज घलान, कोषाध्यक्षमा सुन्तली सुनुवार, र सदस्यमा सुदीप जिम्बा, एलिसा तितुङ, मैयाँ रुम्बा, र देवीलाल प्रजा चयन भएका छन्।
अध्यक्ष स्याङ्तानको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले गाउँपालिकाभित्र स्वास्थ्य र सरसफाइका क्षेत्रमा संस्थाले गरेको योगदानप्रति धन्यवाद ज्ञापन गरे।
उनले भने, “गाउँपालिकाले विभिन्न संघसंस्थासँग सहकार्यमा विकासका कार्यक्रम अघि बढाइरहेको छ। प्रेम सेवा समाजले स्वास्थ्य, एम्बुलेन्स सेवा र आमा समूह परिचालनमा देखाएको सक्रियता प्रशंसनीय छ।”
सभामा कार्यक्रम संयोजक उद्धवबहादुर चेपाङले वार्षिक प्रगति प्रतिवेदनसहित आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले संस्थाले आमा र नवजात शिशुको स्वास्थ्य, एम्बुलेन्स सेवा, सरसफाइ तथा स्वच्छता, जिविकोपार्जन सुधार र सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।
कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाध्यक्षहरू, कार्यपालिका सदस्य, स्वास्थ्य शाखा प्रमुख तीलकप्रसाद गौतम, सिडिपिएन, सांग्रिला डेभलपमेन्ट एशोसिएसन, र शान्ति नेपाल संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।



























प्रतिक्रिया दिनुहोस्