हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको मनहरी गाउँपालिकाकी एक महिलाको घर बनाईदिने भएका छन् । मनहरी वडा नम्बर–९,स्थित विपन्न तथा दलित एक महिलाको घर मुख्यमन्त्री बानियाँले व्यक्तिगत खर्चमा बनाइदिने भएका हुन् । सोमबार मुख्यमन्त्री बानियाँले गाउँपालिका मार्फत मिठुमाया सुनारको घर निर्माणका लागि २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । मुख्यमन्त्री बानियाँले सहयोग गरेको सो रकमबाट मिठुमायाको २ वटा कोठा, एउटा भान्छासहितको शौचालय बाथरुम निर्माण गरिने योजना बनाइएको बताएका छन् ।

मुख्यमन्त्री बानियाँले गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, मनहरी–९ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, ६ नम्बर वडाध्यक्ष यादव थपलिया लगायतको उपस्थितिमा २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको बताएका हुन् । मिठुमाया सुनारकी श्रीमानको ५ वर्ष पहिलेनै मृत्य भएको थियो । सुनारको एकल छोरा संगम सुनार शारीरिक रुपमा अशक्त रहेका छन् । आफ्नो थ्रोकिएको घर बनाउन नसकेर समस्या परेको भनेर सिफारिस दिएपछि गाउँपालिकाले घर निर्माणका लागि सिफारिस गरेको हो ।

मुख्यमन्त्रीको सेवा सुविधाबाट प्राप्त हुने रकमबाट आफ्नो क्षेत्रका विपन्नको घर बनाइदिन भनेर यसअघि नै मुख्यमन्त्री बानियाँले घोषणा गरेका थिए । उनले आफूले पाउने सेवा सुविधाबाट खर्च हुने गरी एकल महिलाको घर निर्माण गर्न रकम सहयोग गरेको मुख्यमन्त्रीका सचिवालयले जनाएको छ । मनहरीका समाजसेवी प्रकाश बर्ताैला, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष गणेश मानन्धर लगायतको रोहोबरमा वडा कार्यालय र मनहरी गाउँपालिकाका अध्यक्ष कालाखेतीले महिलाको घर निर्माण गरिदिन गाउँपालिकामार्फत मुख्यमन्त्री बानियाँलाई अनुरोध गरेका हुन् ।