भारत (सिक्कीम) – छिमेकी मुलुक भारतको सिक्कीमा जारी ७९ औँ सस्करणको इन्डिपेन्डेट्स डे फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी मकवानपुर नेपालको टिमले सुखद् सुरुवात गरेको छ ।

मुनसोङ्ग सिनचोन युथ क्लबको आयोजनामा मङ्गलबार मुनसोङ्ग खेलमैदानमा भएको खेलमा न्यू जेनेरेशन क्लबालाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै हेटौंडा फुटबल एकेडेमीले पहिलो जीत दर्ता गरेको छ ।

यो जीतसँगै हेटौंडा फुटबल एकेडेमी क्वाटर्फाइनलमा आफ्नो स्थान पक्का गरेको छ । खेलको निर्धारित समय एक-एक गोललो बराबरीमा रोकिएपछि नतीजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो । न्यू जेनेरेशनबाट पहिलो हाफको २० मिनेटमा कुन्जामन थापाले गोल गरेका थिए ।

हेटौंडा एकेडेमीका विकास तितुङ्ले २२ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । हेटौंडा फुटबल एकेडेमीबाट मनिस पौडेल, विकास तितुङ, मिलन स्याङ्तान र संजीव अर्यालले प्रहार गरेको बल गोलमा परिणत भएको थियो भने सञ्जय लामाको प्रहार गलमा परिणत हुन सकेन्न । न्यू जेनेरेशनका नोरङ लिपचा र प्रीवेश रोयले प्रहार गरेको बल गोलमा परिणत भएको थियो भने अनसुमन सुब्बाको गोललाई हेटौंडा एकेडेमीका गोल रक्षक अस्मिर गोङ्गबाल बचाउ गरेका थिए । विजु भुजेलको प्रहार पोस्टबाट बाहिरीएको थियो ।

अब शनिबार हुने क्वाटरफाइनल चरण्को खेलमा हेटौंडा फुटबल एकेडेमीले बीसीएफएको टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । प्रतियोगितामा टिम प्रशिक्षक भीम लामा र टिम म्यानेजर सञ्जय लामा रहेका छन् । प्रतियोगिताको उपाधि विजेता टिमले एकलाख रुपैयाँसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुला लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।