हरेक नेपालीले १६ वर्ष उमेर पूरा भएपछि प्रमाण र सनाखतका आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने हो। नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने विषय नैसर्गिक अधिकार भए पनि पाँचथरको हिलिहाङकी चनमति माझीलाई भने सोही प्रमाणपत्र प्राप्त गर्न ९३ वर्ष पुगिन्। आवश्यक जानकारी र साथ दिने कोही नहुँदा माझी ९३ वर्षको उमेरसम्म बिनानागरिकता बसिन्।

हिलिहाङ गाउँपालिका–२ पिनासीकी माझीलाई बिहीबार उनकै घर पुगेका प्रमुख जिल्ला अधिकारी गणेश गैरे, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी, हिलिहाङ–२ का वडाध्यक्ष भीमप्रसाद हेम्ब्यासहितको टोलीले नागरिकता प्रमाणपत्र उपलब्ध गराएका हुन्। विभिन्न सञ्चारमाध्यममा ९३ वर्षको उमेरमा समेत माझीले नागरिकता प्राप्त गर्न नसकेको तथा नागरिकता प्रमाणपत्र अभावमा राज्यबाट पाउने सबै सेवा सुविधाबाट बञ्चित भएको समाचार प्रकाशन/प्रसारण भएपछि प्रशासन र गाउँपालिकाले चासो दिएको थियो। उनको अवस्था बुझ्न गत साता जिल्ला प्रशासन कार्यालयको टोली माझीको घर पुगेको थियो।

नागरिकता प्राप्त गर्न योग्य व्यक्ति भए पनि माझीले सो प्रमाणपत्र नपाएको बुझेपछि प्रशासनले उनको घरमै पुगेर उपलब्ध गराएको प्रजिअ गैरेले जानकारी दिए। नागरिकताको प्रमाणपत्र के हो रु भन्नेसम्म नबुझेकी माझीका श्रीमानको दुई वर्षअघि निधन भएको थियो। उनका सन्तान नभएको र अरुका घरमा गएर बस्न नरुचाउने भएका कारण गरिबी र छिमेकीको सहायतामै माझीले जीवन गुजार्दै आएकी छिन्। नागरिकताको प्रमाणपत्रकै अभावका कारण उनले सामाजिक सुरक्षा भत्तासहित अन्य सरकारी सेवासमेत लिन नपाएको माझीका छिमेकी बताउँछन्।

बाख्रा र कुखुरा पालेर बसेकी उनलाई नागरिकताको प्रमाणपत्रबारे उत्ति चासो भने थिएन। तर अब सामाजिक सुरक्षा भत्ता आउने थाहा पाउँदा भने माझी खुसी छिन्। विगतमा श्रीमानको सामाजिक सुरक्षा भत्ताको सहायताबाट गुजारा चलाउन उनलाई सहज थियो। तर श्रीमानको निधनपछि माझीको जीवन अभावमा गुज्रिरहेको छ।

माझीको रेखदेखको जिम्मा हिलिहाङ गाउँपालिकाले लिने प्रतिबद्धता जनाएको छ। ‘उहाँको सहज जीवनयापनका लागि आवश्यक काम थाल्ने छौँ’, गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले भने, ‘घर निर्माण गर्ने र रेखदेखको व्यवस्था गर्छौँ।’ भत्केको सानो घरमा कष्टकर जीवन बिताउन बाध्य माझी अरुका घरमा गएर बस्न सहमत छैनन्। गाउँपालिकाले घर निर्माण गरी रेखदेखको प्रबन्ध गर्ने योजना बनाएको छ।

नागरिक न्युजबाट साभारछ ।