हेटौंडा । नेपाल प्रहरी शिक्षालय भरतपुरमा आइतबार आयोजित विशेष समारोहका बीच २–१७९औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी महानिरीक्षक (आइजीपी) चन्द्र कुबेर खापुङ्ग प्रमुख अतिथि रहनु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि आइजीपी खापुङ्गले तालिममा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार, प्रमाणपत्र र नगद सम्मान वितरण गरेका छन् । सोही अवसरमा उनले प्रशिक्षार्थीहरूले तयार पारेको ‘स्मृतिकुन्ज’ पुस्तकको विमोचन समेत गरे।

महानिरीक्षक खापुङ्गले कठिन तालिम सफलतापूर्वक सम्पन्न गर्न सफल प्रशिक्षार्थीहरूलाई बधाई दिंदै, सीप र ज्ञानलाई कार्यक्षेत्रमा व्यावसायिकता र इमानदारीसहित प्रयोग गर्न निर्देशन दिएका थिए । उनले लोभ, लालच र भयबाट मुक्त रही न्याय र जनसेवामा समर्पित भएर कार्य गर्नुपर्ने बताए।

उनले भने, “जस्तोसुकै परिस्थिति आए पनि नेपाल प्रहरीले अग्रपंक्तिमा रही उच्च मनोबलका साथ सेवा र सुरक्षा सुनिश्चित गर्नुपर्छ। प्रहरीको धर्म र कर्म नै नागरिकको सुरक्षा हो।”
कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक डिआइजी दिपेन्द्र जिसीले धन्यवाद मन्तव्य व्यक्त गरे भने शिक्षालयका समादेशक एसएसपी भूपेन्द्र बहादुर खत्रीले प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराएका थिए ।

तालिम संयोजक डिएसपी अर्जुन केसीका अनुसार, २०८१ कात्तिक ९ गतेदेखि सञ्चालन भएको उक्त तालिममा ५३ महिला सहित ३७७ जना प्रशिक्षार्थी दीक्षित भएका छन्। दीक्षित सहायक निरीक्षकहरूलाई उनका अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभित गरेका थिए।

उक्त कार्यक्रममा चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकाल, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, सरकारी कार्यालयका प्रमुख, प्रशिक्षार्थीका अभिभावक तथा परिवारजन, समाजसेवी र सञ्चारकर्मीहरूको उपस्थिती रहेको थियो।

रातो समाचार संवाददाता
थप जानकारी