हेटौंडा । हेटौडा–१५ भोर्लेमास्थित श्री आधारभूत विद्यालयमा विद्यालय विद्यार्थी कल्याण छात्रवृत्ति स्वर्ण अक्षयकोषको स्थापना गरिएको छ । बिहीबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार भोम्जनको अध्यक्षतामा एक कार्यक्रमको बीचमा विद्यालय कल्याण छात्रवृत्ति अध्यक्ष कोषको स्थापना गरिएको हो । विद्यालयमा सेवा दिँदै निवृत्त भएका स्व. शिक्षक कृष्ण गोपाल कार्कीको स्मृतिमा उनकी धर्मपत्नी कमला कार्कीले रु. १ लाख १ सय ५१ रुपैयाँको नगद सहयोग गर्दै अक्षयकोषको स्थापना गरिएको छ । अध्यक्षकोष स्थापना कार्यक्रममा विद्यार्थीका छात्रवृत्तिका लागि समाजसेवी प्रमिला ढकालले ५१ हजार रुपैयाँको चेक सहयोग गरेकी थिइन् ।
विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर बम्जनले हेटौंडा भित्र हाम्रो विद्यालयमा भएतापनि भौतिक पूर्वाधारको कमी रहेको बताएका छन् । वर्षायाममा छानो चुहिने समस्याको बाबजुद पनि गुणस्तरीय शिक्षण–अध्ययन निरन्तर अघि बढिरहेको उनले बताए । विद्यालयमा स्थापना गरिएको अक्षयकोषले गरिब, जेहेनदार, दलित र सिमान्तकृत विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न ठूलो भूमिका खेल्ने उनको भनाई छ । यो केवल आर्थिक सहयोग होइन, विद्यार्थीहरूको भविष्यप्रति देखाइएको अमूल्य आस्था र प्रेरणा हो ।” उनले भने । प्रधानाध्यापक बम्जनका अनुसार, प्राप्त रकम अक्षयकोषमा सुरक्षित राखिनेछ र आगामी मंसिर १७ गते विद्यालयको ५० औँ स्थापना दिवस (स्वर्ण जयन्ती) मा सहयोगी परिवार र व्यक्तिहरूलाई कदर पत्रद्वारा सम्मान गरिने बताए ।
विद्यालयले स्थापना भएको पाँच दशक पूरा गर्न लागेको यस समयमा हाल कक्षा १ देखि ८ सम्मका आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाहरू अध्ययनरत छन्। विद्यालयले चुनौतीपूर्ण वातावरणबीच पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै प्रधानाध्यापक बम्जनले सहयोगी हातहरूको योगदानलाई प्रेरणादायी उदाहरणको रूपमा स्मरण गरेका छन् ।
कार्यक्रममा स्व. कार्कीकी छोरी प्रविणा कार्की, रिद्धी–सिद्धी सिमेन्ट उद्योगका महानिर्देशक श्री रेवन्त ढकाल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–अभिभावक संघका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा शुभचिन्तकहरूको पनि उपस्थिति रहेको थियो ।


















प्रतिक्रिया दिनुहोस्