हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा तथा हेटौंडा–४,स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा जारी १६ औं संस्करणको नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत उसु खेल सम्पन्न भएको छ । शनिबार हेटौंडा–४,पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा उसुतर्फको खेल सम्पन्न भएको हो ।

उसुको प्रतियोगितामा थाउलो (प्रदर्शनी) विधा र सान्सो (कम्बेट फाइट) विधामा खेलाडीहरुबीच प्रतिस्पर्धा भएको मकवानपुर जिल्ला उसु संघका सचिव एवम् प्रतियोगिताका मुख्य संयोजक विश्वनाथ पाठकले जानकारी दिएका छन् । प्रतियोगिता अन्तर्गत सान्सो फाइट विधामा ४२,४५ र ४८ केजी तौल समूहका छात्र÷छात्रा खेलाडीहरुको सहभागिता रहेको मुख्य संयोजक विश्वनाथ पाठकले जानकारी दिए ।
छात्रतर्फ नान छ्वान विधामा हेटौंडा–१०,स्थित तुल्सी मेहर मेमोरियल बोर्डिङका एराईज लामा प्रथम, हेटौंडा–५,स्थित जीएस निकेतनकी रिजन पण्डित द्वितीय र जीएस निकेतनकै अग्रिम पाठक तृतीय भएका छन् । छात्रातर्फको नान छ्वान विधामै हेटौंडा–२,स्थित सिद्धार्थ माध्यमिक विद्यालयकी लिजा प्रजा प्रथम भएकी छिन् ।

छात्रमा छाङ छवान विधामा हेटौंडा–९,स्थित प्रगति माध्यमिक विद्यालयकी शीलत थिङ प्रथम, हेटौंडा–४,स्थित ब्रह्मदिक एकेडेमी बोर्डिङकी जर्ज बम्जन द्वितीय, जीएस निकेतनका अग्रज पाठक र हेटौंडा–१०,स्थित ज्ञानोदा माध्यमिक विद्यालयका सौरव प्रज्ञा तृतीय भएका छन् । छात्रामा हेटौंडा–८,कमानेस्थित चन्द्रोदय माध्यमिक विद्यालयकी रीतिका खतिवडा प्रथम भएकी छिन् ।
छात्रमा ताइची विधामा हेटौंडा–८,कमानेस्थित कमाने एकेडेमीका रिशभ खतिवडा प्रथम र हेटौंडा–१०,स्थित तुल्सी मेहर मेमोरियल बोर्डिङका क्षितिज खतिवडा द्वितीय भएका छन् । ताइची विधामै छात्रातर्फ हेटौंडा–४,स्थित ब्रह्मदिक एकेडेमी बोर्डिङकी अविष्मा पाठक प्रथम भएकी छिन् ।

छात्रको सान्दा विधामा सिद्धार्थ माध्यमिक विद्यालयका आयुष लामा ४५ केजी तौल समूहमा प्रथम र प्रगति माध्यमिक विद्यालयका आन्नद थिङ ४८ केजी तौल समूहमा द्वितीय भएका छन् । छात्रातर्फ तुल्सी मेहर बोर्डिङकी रिया दोङ ४२ केजी तौल समूहमा प्रथम हुँदा तुल्सी मेहर बोर्डिङकै जेनिशा लोप्चन ४५ केजी तौल समूहमा द्वितीय भएका छन् ।

प्रतियोगिता हेटौंडाको सामुदायिक र संस्थागत विद्यालयबाट २० जना विद्यार्थीको सहभागिता रहेको उनले बताए । नगरस्तरीय प्रतियोगितामा प्रत्येक विधामा प्रथम हुने खेलाडीहरुले मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागिता जनाउन पाउने उनले बताए । गत वर्ष जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत उसु खेल भएको थिएनन् । तर नगरस्तरीय प्रतियोगिताको आधारमै प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा खेलाडीहरुलाई सहभागी गराइएको थियो । प्रतियोगिता अन्तर्गतका विजेता खेलाडीहरुलाई भोलि आइतबारको समापन समारोहमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

रातो समाचार संवाददाता
थप जानकारी