हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले तिहार तथा छठ पर्वका अवसरमा देउसी–भैलो राति ९ बजेपछि खेल्न नपाइने गरी कडा निर्देशन जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठके आइतबार एक सूचना जारी गर्दै पर्वहरूमा शान्ति, सुरक्षा र सौहार्दपूर्ण वातावरण कायम राख्न सबै नागरिकलाई सचेत रहन आग्रह गर्दै राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाउनेगरी निर्देशन दिएको हो ।

प्रशासनका अनुसार ९ बजेपछि उच्च ध्वनि स्तरमा माइक वा साउण्ड सिस्टम प्रयोग गरी देउसी–भैलो खेल्ने कार्यले ध्वनि प्रदूषण र सुरक्षा समस्या बढाउने भएकाले समय सीमा तोकिएको हो । त्यस्तै, जुवा–जुवातर्फ लाग्ने, मादक पदार्थको अवैध कारोबार गर्ने, मूल्य वृद्धि गर्ने, विषादीयुक्त खाद्यान्न बिक्री वितरण गर्ने, सवारीसाधनमा तोकिएको भन्दा बढी भाडा असुल्ने लगायतका कार्य नगर्न चेतावनी दिइएको छ ।

प्रशासनले दीप प्रज्वलन र विद्युतीय सजावट गर्दा आगलागीको जोखिम हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। साथै, नेपाल सरकारको निर्णयअनुसार प्लास्टिकजन्य वस्तुको उत्पादन, बिक्री र वितरणमा समेत प्रतिबन्ध लागू गरिएको जनाएको छ । प्रजिअ श्रेष्ठका अनुसार, पर्वमा कानुन विपरीत गतिविधि गर्ने वा गराउने जो–कोहीमाथि प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ।

रातो समाचार संवाददाता
थप जानकारी