हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरीका नायब महानिरीक्षक (डिआइजी) अरूण पौडेललाई चितवनमा सम्मान गरिएको छ । चितवनस्थित बालकुमारी माध्यमिक विद्यालयले पूर्वविद्यार्थी समेत रहेका डिआइजी अरुण पौडेललाई बालमाविद् पूर्वविद्यार्थी सम्मान-२०८२ बाट सम्मान गरिएको हो ।
सम्मान ग्रहणपछि उनले विगतमा बालकुमारी माविका विद्यार्थी एसएलसी नतीजामा बोर्डफर्स्ट, बोर्डसेकेण्ड हुने गरेको बताए । उनले गुणस्तरीय शिक्षाको खोजीमा आफू स्याङ्जादेखि चितवनसम्म आई बालकुमारी माविमा पढेको बताउँदै बालकुमारीको पुरानो साखलाई पुनः फर्काउन सरोकारवाला सबै जुट्नु पर्ने सुझाव दिएका छन् । २०४७ सालमा बालकुमारी माविबाट एसएलसी दिएर । २०५४ साल चैतबाट प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गरेका डिआइजी पौडेल हाल प्रदेश प्रहरी कार्यालय हेटौँडामा कर्यरत रहेका छ्न् ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका-२ का वडाध्यक्ष मनोज रानाभाटले बालकुमारी माविको शैक्षिक गुणस्तर वृद्धिका लागि वडाले आवश्यक सहयोग गर्दै आएको बताउँदै उनले वडाबाट विद्यालयलाई स्मार्ट बोर्ड, ल्यापटपलगायत सहयोग गरेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल भट्टराईले शैक्षिक सुधारका लागि बालकुमारी माविले आफ्नो गति लिइरहेको बताए । यस वर्षको एसइई नतीजाले पनि यस कुरालाई पुष्टि गरेको उनको भनाइ थियो ।
कार्यक्रममा बालकुमारी माविका प्रधानाध्यापक आनन्दराज सापकोटा, पूर्वप्रधानाध्यापक सरस्वती रिजाल, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तारामित्र पण्डित, बालमाविद् अलुम्नाई एसोसिएसनका अध्यक्ष वामदेव शर्मा, पूर्वविद्यार्थीहरू सनदकुमार पिया, नरेन्द्र कँडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।














प्रतिक्रिया दिनुहोस्