एफसी सिम्पानी क्लबको टिमको तस्बीर ।

हेटौंडा । चितवन जिल्लाको राप्ती नगरपालिकामा जारी दोस्रो संस्करणको हासु एफसी कप खुल्ला नकआउट फुटबल प्रतियोगिता-२०८२ मा मकवानपुरको मनहरी गाउँपालिकाको सिम्पानी युथ क्लबले पहिलो जीत निकालेको छ । बुधबार सिमरा युवा समाजको आयोजनामा राप्ती नगरपालिका वडा नम्बर–१,स्थित सिमरा खेल मैदानमा भएको पहिलो चरणको खेलमा एमजेसी फिल्म स्टुडियोलाई ४–२ गोलले  सिम्पानी युथ क्लबले हराएको छ । सिम्पानी युथ क्लबको तर्फबाट पहिलो हाफको १८ मिनेटमा विजय दोङले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए ।

सिम्पानीकै तर्फबाट मिलन स्याङ्तानले पहिलो हाफकै २० मिनेटमा गोल गर्दै खेललाई अगाडि बढाए । एमजेसी फिल्म स्टुडियोको तर्फबाट ओमकार गुरुङ्गले दोस्रो हाफको ४ मिनेटमा गोल गर्दै टिमलाई सहानुभूति प्रदान गरेका थिए । २–१ गोल अन्तरको स्थितिमा खेल चलिरहँदा दोस्रो हाफकै १० मिनेटमा अञ्जन चौधरीले गोल गरेका थिए । एमजेसी फिल्म स्टुडियोबाट रोहितले अन्तिम गोल गरेका थिए । सिम्पानी एफसीबाट मिलन स्याङ्तानले थप एक अन्तिम गोल गरेका थिए । खेलको म्यान अफ म्याच मिलन स्याङ्तान घोषित भएको क्लबका अध्यक्ष अञ्जान सिङ्तानले जानकारी गराएका छन् । अब यही असोज ६ गते एफसी सिम्पानीले दोस्रो चरणको खेल खेल्नुपर्ने अध्यक्ष सिङ्तानले बताएका हुन् ।

राप्ती नगरपालिका १ नम्बर वडा कार्यालयको संरक्षणमा तथा हासु एजुकेशन कन्सटे्रनसीको प्रयोजनमा भदौ ३० गतेबाट प्रतियोगिता सुरु भएको टिम प्रशिक्षक राजेन्द्र कुमार मोक्तानले बताए । प्रतियोगितामा २४ वटा टिमहरुको सहभागिता रहेको उनले बताए । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रियका लागि खेलकुद भन्ने मूल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । प्रतियोगितामा सहभागी भएको एफसी सिम्पानीले जेनजीको आन्दोलनको क्रममा ज्यान गुमाउनेहरुको सम्झनामा बुधबार शोक विदाको समयमा श्रद्धाञ्जली गरेका थिए ।

प्रतियोगिताको उपाधि विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ३५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भने असोज १२ गते हुनेछ । भदौ २५ गते हुने भनिएको प्रतियोगिता जेनजीको आन्दोलनको कारणले स्थगित गर्नुपरेको थियो ।