हेटौंडा फुटबल एकेडेमीको टिम ।

हेटौंडा । प्रथम संस्करणको ज्यामिरे कप खुल्ला नकआउट फुटबल प्रतियोगितामा मकवानपुरको हेटौंडा फुटबल एकेडेमी क्वार्टरफाइनलमा प्रवेश गरेको छ । चितवन जिल्लाको खैरहनी नगरपालिकामा जारी ज्यामिरे कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको आफ्‌नो पहिलो खेलमा हेटौंडा फुटबल एकेडेमीले चैनपूर युनाइटेडलाई ४–२ गोलले टाइब्रेकरमा पराजित गरेको हो । खेलको निर्धारित समयमा दुबै पक्षका टिमले १/१ गोल गरेका थिए । जस कारण खेल टाइब्रेकरमा पुगेको थियो ।

हेटौंडा फुटबल एकेडेमीका लागि पहिलो हाफको ३ मिनेटमा फ्रि किक मार्फत सखिन गुरुङले गोल गरेका थिए । चैनपूर युनाइटेडबाट पहिलो हाफको अन्तिम समय अर्थाथ ३६ मिनेटमा मनु कुमालले गोल गर्दै खेललाई १/१ गोलको बराबरी स्थितिमा पुर्‍याएका थिए । त्यसपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

हेटौंडा फुटबल एकेडेमीबाट सखिन गुरुङ, प्रकाश पुन, मिलन स्याङ्तान र कुमार लामाले टाइब्रेकरमा गोल गर्न सफल भएका थिए । चैनपूर युनाइटेबाट मनु कुमाल प्रहार गरेको बल गोलमा परिणत भएको थियो । यस्तै जर्सी नम्बर २० खेलाडीले प्रहार गरेको बल पोष्टबाट बाहिरीएको थियो भने जर्सी नम्बर १४ का खेलाडीले प्रहार गरेको बल हेटौंडा फुटबल एकेडेमीका गोल रक्षक अस्मिर गोङ्बाले रोकिदिएका थिए ।

खेलको म्यान अफ द म्याच हेटौंडा फुटबल एकेडेमीका गोलरक्षम अस्मिर गोङ्बा घोषित भएका छन् । उनले नगर १ हजार रुपैयाँ प्राप्त गरे । अब पुस २० गते हेटौंडाको टोलीले क्वार्टरफाइनलको खेल खेल्नुपर्ने टिम कप्तान कृष्ण गुरुङले बताए ।

प्रतियोगितामा मकवानपुरको हेटौंडासहित अयोजक ज्यामिरे ए, बी, बागमती पुलिस क्लब, न्यू सिम्रेनी, मकवानपुरको सुनाचुरी, चैनपूर युनाइटेड, जय मंगल युवा क्लब, श्री परिवर्तन हातेमालो जगतपूर, एन्फा यु–१६, रत्ननगर नगरपालिकाको खेलकुद विकास समिति, बिटीएस माडी, पिठुवा एकेडेमी, दिगो विकास एफसी, पार्वतीपूर र हर्दी युवा समाजको टिमहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल पुस २५ गते हुनेछ ।

रातो समाचार संवाददाता
थप जानकारी