हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा सुरु भएको आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगितामा सर्लाही जिल्लाको बागमती युथ क्लबले सुखद् सुरुवात गरेको छ । बिहीबारबाट बागमती गाउँपालिका वडा नम्बर–४,स्थित सहिद स्मृति रंगशालामा सुरु भएको राष्ट्रिय बागमती गोल्डकप फुटबलमा आयोजक बागमती खेलकुद विकास समितिलाई हराउँदै सर्लाहीको बागमती युथ क्लबले प्रभावशाली सुरुवात गरेको छ । बागमती युथ क्लबका लागि खेलको ३१ औ मिनेटमा गोल गर्दै सुजन गुरुङले सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि राजु लोले खेलको ६८ औं मिनेटमा गोल गरेर अग्रतालाई बढाएका थिए । खेलको ७१ औं मिनेटमा अनिष महर्जनले गोल गर्दा बागमतीले आयोजकलाई ३–० को गोलले स्तब्ध पारेको हो । खेलको म्यान अफ द म्याच पहिलो गोलकर्ता सुजन गुरुङ घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे । भोलि शुक्रबारको खेलमा काठमाडौंको त्रिभुवन आर्मी क्लब र बारा जिल्लाको जनजागृति क्लबले एकअर्काको सामना गर्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख २६ गते हुनेछ । १० वटा टिमहरुको सहभागिता रहेको प्रतियोगिताबाट एक टिम बाहिरी सकेका छन् ।
प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, उपविजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरुले २५–२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०–१० हजार प्राप्त गर्नेछन् ।
बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङको सभाध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्धाटन गरिएको थियो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी र एन्फा केन्द्रीय सदस्य टीकाराम लामा लगायतको उपस्थिति रहेको थियो ।



















प्रतिक्रिया दिनुहोस्