सूचना प्रविधि मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्माला शर्मा ।

हेटौंडा । अनलाइन सञ्चार माध्यममा दर्ता र नवीकरणको काम तत्काल खुलाउन नेपाल पत्रकार महासंघले सरकारलाई ७२ घण्टा सम्मको अल्टिमेटम दिएको छ । बुधबार पत्रकार माहासंघकी अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षणपत्र बुझाउँदै सञ्चार माध्यम दर्ता र नवीकरणको काम तत्कालै खुलाउन ३ दिन सम्मको अल्टिमेटम दिएको हो ।

पत्रकार महासंघका महासचिव रामप्रसाद दहालको हस्ताक्षर ध्यानाकर्षणपत्र बुझाउँदै सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा हाल अवरूद्ध अनलाइन दर्ता र नविकरण सुचारु नभए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा संशोधन गरी अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण स्थानीय प्रशासनमा गर्ने व्यवस्था पछि देशभर अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालन अवरुद्ध भएको महासंघकी अध्यक्ष निर्मला शर्माले बताइन् ।

ज्ञापनपत्र बुझ्दै मन्त्री गुरूङले अनलाइन संचारमाध्यमलाई परेको असहजता अन्त्य गर्न संक्रमणकालीन व्यवस्था गरिने बताए । उनले यस सम्बन्धी तत्काल नयाँ नियमावली पनि ल्याउने आश्वासन दिलाए । मन्त्रालयकी सचिव राधिका अर्यालले पनि संचारमाध्यम दर्ता र नवीकरण सहज बनाउन पहल गरिने बताइन् । महासंघका उपाध्यक्ष उमिद बागचन्द, सचिवहरु सोनी शर्मा र प्रकाश धौलाकोटी, केन्द्रीय सदस्यहरू रामेश्वर कार्की, उर्जुन पन्त, मनुका कुवँर, पवित्रा मुडभरी, राजकरण महतो, भुपराज बस्याल, लगायतको उपस्थितिमा ज्ञापनपत्र बुझाएको हो ।

रातो समाचार संवाददाता
थप जानकारी