हेटौंडा । हेटौंडा–२,स्थित मकवानपुर बहुमुखी क्याम्पसमा वार्षिक खेलकुद प्रतियोगितामा विजेताहरुलाई पुरस्कृत गरिएको छ । मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले क्याम्पसको ४६ औं वार्षिकोत्सवको अवसरमा माघ १२ गतेदेखि आयोजना गरेको विविध खेलकुद तथा अतिरिक्त क्रियाकलापको कार्यक्रममा विजेता र उपविजेता बनेका विद्यार्थीलाई पुरस्कृत गरिएको छ । बिहीबार क्याम्पसको प्राङ्गणमा आयोजित साँस्कृतिक एवम् पुरस्कार वितरण समारोहमा विद्यार्थी पुरस्कृति भएका हुन् ।

स्ववियुका अध्यक्ष प्रसिद्ध रेग्मीको सभाध्यक्षमा तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष अन्नतप्रसाद पौडेकलको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्धाटन गरिएको थियो । स्ववियुले वार्षिकोत्सवको अवसरमा भलिबल, क्रिकेट, फुटबल, बास्केटबल, बुद्धिचाल, डोरीतान्न, म्याराथन दौड, गायन, नृत्य, कविता÷गजल, हाजिरीजवाफ लगायतका प्रतियोगिताहरुको आयोजना गरेको थियो । जस अन्तर्गतको विजेता र उपविजेता हुने विद्यार्थीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

पुरस्कार वितरण समारोहमा विद्यार्थीसहित अन्य व्यक्तित्वहरुले गायन, नृत्य र जेनजी आन्दोलनपछिको देशको अवस्थालाई समेटेर डाइलग प्रस्तुती गरेका थिए । समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले ४६ औं वर्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई धन्यवाद व्यक्त गरेका छन् । उनले विद्यार्थीले आफ्नो पढाइसँगसँगै आफ्नो अतिरिक्त क्षमतालाई प्रस्तुत गर्दै प्रतियोगिता मार्फत आफ्नो कलाको प्रस्तुती गरेकोमा खुशी व्यक्त गरेका थिए ।

रातो समाचार संवाददाता
थप जानकारी