हेटौंडा ।  जेनजी मकवानपुरले नेपाल सरकार तथा केही जेन–जी समूहबीच हाल भइरहेका सहमतिको प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएको छ। समूहका संयोजक सुविन खत्रीले जारी गरेको प्रेस विज्ञप्तिमा हालका सहमतिकार्यहरू जनआन्दोलनका मूल भावना, मान्यता तथा निर्णयकारी निकायको प्रक्रियासँग मेल नखाने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ— “सहमतिको नाममा ल्याइएका प्रस्तावहरू जनआन्दोलनका मूल्य, राष्ट्रीय स्वाभिमान तथा न्यायपूर्ण राजनीतिक परिवर्तनका आधारसँग असम्बद्ध छन् र यसले आन्दोलनको आधार कमजोर हुने खतरा बढाएको छ ।”

विज्ञप्तिमा हालका केही गतिविधि जनआन्दोलनका मुख्य निर्णयकर्ता निकायसँग समन्वयबिना अघि बढाइएको, स्थायी समाधान नभई अस्थायी तथा हस्तक्षेपकारी प्रकृतिको रहेको र जनताको बलिदान, भावना तथा परिवर्तनको चाहनालाई बेवास्ता गरिएको आरोप लगाइएको छ।

जेनजी मकवानपुरले सरकारसँग भइरहेको सहमतिलाई पुनः समीक्षा गर्न आग्रह गर्दै यसप्रकारका गतिविधिले राष्ट्रिय हित, जनआन्दोलनका योगदान र न्यायपूर्ण राजनीतिक मूल्यहरू कमजोर पर्ने चेतावनी दिएको छ। उनीहरूले जनताको भावना विपरीत, दायित्वहीन व्यवहार र अस्पष्ट सहमतिको कारण आन्दोलन कमजोर पर्ने भएकाले आफूहरू दृढ विरोधमा रहेको स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा थप भनिएको छ— “राष्ट्रिय हित र जेनजी जनआन्दोलनका मूल मूल्यविपरित कुनै पनि हालतमा सहमति हुन सक्दैन। हाल अघि बढाइएका प्रस्तावहरूले आन्दोलनको मूल ध्येयलाई नै क्षति पुर्‍याउने खतरा छ।” संस्थापक जेन–जीले अन्त्यमा आन्दोलनका मागहरू स्पष्ट, दीर्घकालीन र जनताको आकांक्षा अनुसार सम्बोधन हुनुपर्ने आवश्यकता औंल्याएको छ।

रातो समाचार संवाददाता
थप जानकारी