महिला सीप विकास केन्द्र,मकवानपुरले देशभर गृहिणी शिक्षा लागु गर्न र भ्रष्ट्रचार अन्त्यको लागि भन्दै १० दिने सडक अभियान गर्ने जनाएको छ ।
विहिबार पत्रकार सम्मेलन गर्दै पछिल्लो समयमा देशमा बढीरहेको बेथिति,भ्रष्टाचार,कुशासन विरुद्ध अभियान संचालन गर्न लागिएको केन्द्रको अध्यक्ष रिता खनालले बताईन् ।
आफुहरुले यसअघि पनि ,२०६३ सालमा जिल्लाभर गृहणी शिक्षा आन्दोलन र सहकारी अभियान संचालन गरेपछि सरकारले वैकल्पिक शिक्षा प्रणालीको रुपमा ग्रहण गरेको बताइन् ।
देशको आर्थिक अवस्था श्रिलंका पथ तर्फ गईरहेको अवगत गराउदै नागरिकहरुलाई सचेत गराई परेको भार प्रदेश तह संविधानबाट संशोधन गर्दै तत्काल खारेज गर्नुपर्नेमा अबको अभियान रहेको र नागरिकसम्म पुगेर प्रदेश तह खारेज गर्न तर्फ लागिने उनको भनाई छ।
देशको कार्यापालिका,न्यायपालिका,व्यवस्थापिका क्षेत्रहरुमा बढेको भ्रष्ट्राचार लगायत विरुद्ध १० दिनको आन्दोलन अभियान हटौंडाबाट पर्चा वितरण सुरु गरिने अध्यक्ष खनालले बताईन्।
“घर घर बाट जागौं, आफ्नो भविष्य आफै बनाऔं
हार्दिक अपिल ! हार्दिक अपिल !! हार्दिक अपिल !!!’
“घर घर बाट जागौं, आफ्नो भविष्य आफै बनाऔं, आफ्नो देश आफै बचाऔं” “साक्षर हैन शिक्षित बनौं, शिक्षित आमाहरूबाट सम्वृद्ध राष्ट्रको निर्माण गरौं”
आदरणीय आमा, बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू !
समयको पदचाप पछ्याउन नसक्ने नेतृत्वका कारण हामी आज असफल बन्ने बाटोमा दौडिरहेका छौँ । छिमेकी देश श्रीलङ्कालाई नेतृत्व गरिरहेकाहरू एकपछि अर्को गर्दै भागिरहेका तस्वीरहरूले हामीलाई थप गम्भीर बनाएको छ । मुट्ठीभरको जीवन सम्वृद्धिको उकालो उक्लिरहने तर आम जनताको जीवनमा झन् पछि झन् निष्पट्ट अन्धकार छाइरहने यो अवस्थाले सबैलाई पोलिरहेकै होला । जीवनमा खुशहाल आउने अपेक्षाले आम जनताले पटक पटक परिवर्तनको फेर नसमातेका पनि कहाँ हुन र ?
तानाशाही राणा शासन गयो, एकदलीय पञ्चायती शासन गयो अब त लोकराज रहने गणतन्त्र अभ्यास भइरहेको छ । शासन फेरिए, व्यवस्था फेरिए अनि फेरिए शासन प्रशासनमा हाली मुहाली गर्नेहरू पनि । जतिसुकै व्यवस्था फेरिए पनि जनताको जीवनमा खुशहाल आउने अपेक्षामा भने सदाझै तुषरापात भईरहेको छ ।
जनताले सोचेका थिए कम्तीमा जनताकै छोरो राष्ट्र प्रमुख रहने गणतन्त्रमा त पक्कै पनि हाम्रो जीवनले काँचुली फेर्ला । त्यही आशा र अपेक्षाले जनता एकपछि अर्को आन्दोलनमा लागे तर आम जीवनको काँचुली फेरिएन बरू झन दलदलमा फस्दै गयो। पात्रहरू फेरिए प्रवृतिमा कतै बदलाव देखिएन । फगत हिजो राणा, राजाका नाममा हामी माथि शासन गरिएको थियो आज दलहरूको नाममा शासन गरिएको छ ।
हिजो केही सयहरूले जनताको सपनामा बुट बजारिहेका देखिन्थे भने आज थप हजारौं जनाले केन्द्र देखि वार्डसम्म एकैपटक लात मारिरहेका छन्। भ्रष्टाचारले सगरमाथा भन्दा अग्लो उचाइ ग्रहण गर्दैछ, व्यथिति, अन्याय, अत्याचार र अराजकताले सिमा नाधिसक्यो । राजनीतिको हिजोको परिभाषा परिवर्तन भएको छ । यो अब सेवा रहेन बरू यो एउटा उर्वर व्यवसायमा परिणत भएको छ । हिजो जनताको अधिकारका लागि भन्दै आफ्नो जीवन कुर्बान गर्नेहरू आज फट्के किनाराको साक्षी बनेका छन् भने अवसरवादी र दलाल, तस्कर माफिया, बिचौलियाहरूले राजनीतिलाई कब्जा गरेका छन् ।
राज्यका सबै पदहरू लिलाम बढाबढ भए जसरी बिक्री भइरहेका छन् । पैसा छ, पद छ, पैसा छैन केही पनि छैन । राजनीति मात्रै होइन यो लिलाम बढाबढको लाइनमा लामबद्ध हुन प्रशासनयन्त्र, अख्तियार देखि न्यायलय सम्म आइपुगेका छन् । न्यायलयका फैसला समेत खरिद बिक्री हुने यो समयमा बाँकी क्षेत्रमा के भइरहेको छ भनेर धेरै भनिरहनै परेन । देशको यस्तो वास्तविकताका बीच के हामी आम नागरिकहरु चैनको शास फेर्न सकौला ?
यदि सक्दैनौ भने यस्तो निस्सासिदो अवस्थामा बेचैन भएर कहिलेसम्म छट्पटाइरहने ? मलाई विश्वास छ, यो व्याप्त बेथिति र अत्याचारका विरूद्ध नागरिकहरू बोल्नुपर्ने बेला आयो । आज सचेत भएनौ भने हामीलाई भोली बोल्ने समय पनि बाँकी रहने छैन । यस्तो बेला कसले बोल्ला भनेर कुरि बस्नुभन्दा कसै न कसैले कहीं न कहींबाट यो मशाल बाल्नु नै पर्ने छ । देशले आज भोगिरहेको यो डरलाग्दो अवस्थाले बेचैन बनाइरहँदा कैयन रात हामी सुत्न सम्म सकिरहेको छैौ । सायद मलाई जस्तै यो देशका लाखौं लाख सचेत नागरिकलाई यस्तै भएको होला ।
त्यसैले यो विद्रोहको मशाल हामीले हाम्रो आफ्नै गृहनगर हेटौंडाबाट उचाल्ने प्रण गर्दछौं।
……………..
हामी मकवानपुरे शसक्त र सचेत महिलाहरूले २०६३ साल ताका मकवानपुर जिल्लाभरी सहकारी अभियान, गृहिणी शिक्षा आन्दोलनमा होमिएकी थियौं। मकवानपुरबाट हामीले सुरु गरेको नमुना गृहिणी शिक्षा आन्दोलनलाई पछि सरकारले वैकल्पिक शिक्षा प्रणालीका रूपमा ग्रहण गर्यो । महिला शिक्षित हुँदा देश शिक्षित बन्छ भन्ने विश्वासमा आज पनि म र हाम्रो अभियानका हामी सबै विश्वस्त र अडिग नै छौं । त्यही आन्दोलनको सुनौलो जगमा टेक्दै अब सामाजिक मात्रै होइन देशका ज्वलन्त मुद्दामा अघि सर्नुपर्ने बेला आएको छ । धेरै पुरानो व्यथीतिको बयान गर्नुभन्दा पनि पछिल्लो कार्यकालमा हामीले भोगेका दुईवटा सरकारका डरलाग्दा गतिविधिले मात्रै पनि अब जाग्ने बेला आएको छ । ओली सरकारको अन्याय अत्याचार सहेका हामीले फेरि गठबन्धनका नाममा पीडाको पहाड बोक्नु परिरहेको छ । वर्तमान सरकार पनि ओलीपथ कै सतारोहणको चास्नीमा डुबिरहेको छ। जनतामाथि भ्रष्टाचार, कुशासन र अत्याचारको थिचोमिचो र देश दिनानुदिन टाट पल्टिएर कङ्गाल बन्दैछ । यी सबैखाले बेथिति विरुद्ध अब नबोले कहिले बोल्ने ? हामीले नबोले कस्ले बोल्ने ? हामी जहाँ छौं, जस्तो अवस्थामा छौं, त्यहीबाट सुरु गरौं । यो सिंगो देशको अभियान हो, सबै नेपालीको अभियान हो । तेरो मेरो होइन देशका लागि बोलौ, देशै नरहे हामी कहाँ बोल्ने, कहाँ टेक्ने। हाम्रा मागहरूः
१. सर्वत्र व्याप्त भ्रष्टाचारजन्य महारोगलाई जरै देखि उखेलौ।
२. जनताले थेग्नै नसक्ने अनावश्यक प्रदेश तह संविधान संसोधन गरि तु खारेज गर ।
३. सबै खाले असमान कानुनहरू खारेज गर ।
४. देशैभर गृहिणी शिक्षा लागु गर ।
५. लैङ्गिक विभेदको अन्त्य गर ।
६. पूर्व पदाधिकारीहरूलाई दिइदै आएको सबै सुविधा तत्काल खारेज गर ।
७. इन्धन लगायत बढ्दो महङ्गी नियन्त्रण गर!
८. अति विपन्न परिवारको पहिचान गरी राशन कार्डको व्यवस्था गर ।
९. स्थानीय निकाय वितरणमुखी होइन, उत्पादनमुखी बजेट विनियोजन गर ।
१०. राजनीतिको व्यापार होइन, सामाजिकिकरण गर ।
११. शक्तिको दुरूपयोग गरी प्राकृतिक साधन स्रोत माथिको दोहन बन्द गर !
१२. शक्तिको आडमा गरिएको नीतिगत र संस्थागत भ्रष्टाचारले कुम्ल्याएको अकुत सम्पत्ति माथिछानबीन गर।
१३. कार्यकारिणी राजनैतिक पदहरूमा शैक्षिक योग्यता अनिवार्य गर ।
१४. संवैधानिक आयोगहरू माथि सताको ठाडो हस्तक्षेप बन्द गर ।
१५. सबै स्थानीय तहहरूले गृहिणी शिक्षालाई अनिवार्य लागु गर ।
रिता खनाल (अध्यक्ष)
महिला सीप विकास केन्द्र, मकवानपुर परिवार
धन्यावाद !

























प्रतिक्रिया दिनुहोस्