 
                            हेटौंडा । छिमेकी मुलूक भारतको सिक्किममा हुन लागेको १८ औं एल.डी काजी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने हेटौंडा फुटबल एकेडेमी मकवानपुर नेपालको टिमलाई कोरियाबाट सहयोग प्राप्त भएको छ । भोलि बिहिबारबाट सिक्किमस्थित सोरङ जिल्लाको चाकुगमा सुरु हन लागेको एल.डी काजी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुनका लागि हेटौंडा फुटबल एकेडेमीलाई बी डिभिजन खेलाडी अजय बरालले २० सेट जर्सी कट्टु सहयोग गरेका छन् । हेटौंडा–५, निवासी हाल कोरियामा वसोबास गर्दै आएका अजय बरालले प्रतियोगितामा सहभागी हुने क्रममा सहज होस भनेर ३० हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको हेटौंडा फुटबल एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक भीम लामाले जानकारी गराएका छन् ।

यही आइतबार हुने पहिलो खेलमा हेटौंडा फुटबल एकेडेमीको टिमले नाम्ची जिल्लाको रेड पाण्डाको टिमसँग प्रतिस्पर्धा गर्नुपर्ने एकेडेमीका अध्यक्ष भीम लामाले बताए । दुबै टिम जीतको लक्ष्यसहित मैदानमा उत्रने छन् । प्रतियोगितामा १६ वटा टिमहरुको सहभागिता रहने उनले बताए । यस अघि पनि हेटौंडा फुटबल एकेडेमीको टिम छिमेकी मूलूक भारतमा भएको ७९ औं इन्डिपेनडेन्ट डे फुटबल प्रतियोगितामा सहभागी भएर उपाधि जितेको थियो । मुनसोङ खेल मैदानमा सम्पन्न भएको फाइनल खेलमा बरमेक क्लबलाई ४–१ गोलले हराउँदै हेटौंडा फुटबल एकेडेमीले उपाधि जितेको थियो ।
प्रतियोगितामा नेपालबाट हेटौंडा फुटबल एकेडेमी र झापा जिल्लाको झापा–११ नेपालको सहभागिता रहने छ भने अन्य टिम भारतकै सहभागी हुनेछन् । प्रतियोगितामा केएफसी सिलिगुरी, सिङलिङ्ग सोरेङ, स्टेभ ब्रदर्श मलबजार, आक्रमण ग्यानटोक, मिक्सड अफ ब्वाइज, हिमालयन एससी ग्यानटोक, हेटौंडा फुटबल एकेडेमी, रेड पाण्डा नाम्ची, सिक्किम पुलिस, गेरोजियन एफसी, याङथाङ युनाइटेड, बीएसके जालपाइगुरी, कुरेसोङ, भेङथार, झापा नेपाल र ब्रदरहुड एफसीको टिमको सहभागिता रहने छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रोत्साहन गर्ने र खेलको माध्यमले भातृत्व कायम गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको बताइएको छ । प्रतियोगिताको फाइनल खेल कार्तिक २३ गते हुनेछ । हाल हेटौंडा फुटबल एकेडेमीमा बिहान दैनिक ५० जना खेलाडीहरु प्रशिक्षणमा सहभागी हुने गरेका छन् ।

































प्रतिक्रिया दिनुहोस्