 
                            हेटौंडा । १८ औं एल.डी काजी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने हेटौंडा फुटबल एकेडेमीको टोली छिमेकी मुलुक भारतको सिक्किम स्टेट प्रस्थान भएका छन् । बिहिबारबाट सिक्किमस्थित सोरङ जिल्लाको चाकुगमा सुरु भएको एल.डी काजी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुनका लागि हेटौंडा फुटबल एकेडेमीका खेलाडी सिक्किम प्रस्थान भएका हुन् ।
सिक्किमको प्रतियोगितामा सहभागी हुने टिम प्रशिक्षक र अफिसियलसहित २० जना खेलाडी सिक्किम प्रस्थान हुँदैछ्न् । आइतबार हुने पहिलो खेलमा हेटौंडा फुटबल एकेडेमीको टिमले नाम्ची जिल्लाको रेड पाण्डाको टिमसँग सामना गर्नुपर्नेछ ।
प्रतियोगितामा हेटौंडा एकेडेमीसहित १६ वटा टिमहरुको सहभागिता रहने छ । प्रतियोगिताको फाइनल खेल कार्तिक २३ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा नेपालबाट हेटौंडा फुटबल एकेडेमी र झापा जिल्लाको झापा–११ नेपालको सहभागिता रहने छ भने अन्य टिम भारतकै सहभागी हुनेछन् ।
प्रतियोगितामा केएफसी सिलिगुरी, सिङलिङ्ग सोरेङ, स्टेभ ब्रदर्श मलबजार, आक्रमण ग्यानटोक, मिक्सड अफ ब्वाइज, हिमालयन एससी ग्यानटोक, हेटौंडा फुटबल एकेडेमी, रेड पाण्डा नाम्ची, सिक्किम पुलिस, गेरोजियन एफसी, याङथाङ युनाइटेड, बीएसके जालपाइगुरी, कुरेसोङ, भेङथार, झापा नेपाल र ब्रदरहुड एफसीको टिमको सहभागिता रहने छ ।
यस अघि भने हेटौंडा फुटबल एकेडेमीको टिम छिमेकी मूलूक भारतमा भएको ७९ औं इन्डिपेनडेन्ट डे फुटबल प्रतियोगितामा सहभागी भएर उपाधि जितेको थियो । मुनसोङ खेल मैदानमा सम्पन्न भएको फाइनल खेलमा बरमेक क्लबलाई ४–१ गोलले हराउँदै हेटौंडा फुटबल एकेडेमीले उपाधि जितेको थियो ।


 रातो समाचार संवाददाता
  
                                        रातो समाचार संवाददाता                                    































प्रतिक्रिया दिनुहोस्