
बागमती: सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बलको एपीएफले विजय सुरुवात गरेको छ ।
आइतबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा चितवनको हानामी बिएफसीलाई टाइब्रेकरमा ३-१ गोलले हराउँदै बीच एपीएफले विजय सुरुवात गरेको हो ।
निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एपीएफका सुमन श्रेष्ठ, दिपेश धिमाल र मनि कुमार लामाले गोल गरे । बिएफसीका अमन लामाको प्रहार मात्रै गोल भए ।
बिएफसीका रोशन क्षेत्री र सुरेश कुमालको प्रहार एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले रोके भने विदेश खेलाडी बफरको प्रहार बाहिरिएका थिए । एपीएफका गोलरक्षक श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।खेलको ६४ औं मिनेटमा एपीएफका प्रदीप लामाले रातो कार्ड पाएर बाहिरिए पनि एपीएफले निर्धारित खेल समय आफ्नो पक्षमा पारेको थियो । एपीएफ गत संस्करणको उपविजेतासमेत हो ।
आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्