लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्र हमालले कात्तिक १६ गतेको पत्रकार सम्मेलन कार्यक्रममा ‘नेपालगन्ज–कोहलपुर’ सडकखण्डको बीच भागलाई हरियाली बनाउने योजना सुनाएका थिए।
त्यतिबेला यो सडकखण्डमा मात्र होइन, दाङको तुलसीपुर–घोराही र रुपन्देहीको भैरहवा–बुटवल सडकखण्डको बीच भागलाई हरियाली क्षेत्र बनाउने विषयमा आफूले छलफल र समन्वय गरिरहेको उद्घोष पनि गरे।
यस्तै मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला आएका उनले वृक्षारोपण गर्दा एकातिर हरियाली हुने र अर्कोतिर वातावरण संरक्षणमा टेवा पुर्याउने लक्ष्य सुनाए। तर सडकलाई हराभरा बनाउने र वातावरण संरक्षण गर्न सडकमा वृक्षारोपण हुने उनको योजनाले अहिले गति लिन सकेको छैन। यति मात्र होइन यो योजना अगाडि बढाउन कुनै पहल भएको छैन।
योजना सार्वजनिक गरेको पाँच महिना हुँदा पनि सामान्य अध्ययनसमेत हुन सकेको छैन। लुम्बिनीका कुन सडकमा वृक्षारोपण गर्ने त्यसका लागि जिल्ला नै छनोट भइसकेका छैनन्। राजनीतिक अस्थिरता र योजनालाई गम्भीररुपमा नलिँदा उनले पहिलो योजना नै ठेस लागे हो। उनले त्यतिबेला सानो विरुवा नभइ केही ठूलो विरुवा लगाउने भनेका थिएन।
‘त्यसमा सुझाव लिइरहेको छुँ, हामीले एक/दुई महिनाको रुख लगाउने होइन, कम्तिमा पनि ५/७ फिट अग्लो रुख लगाउने हो, वयस्क रुख रोप्ने हो,’ त्यतिबेला उनले भनेका थिए, ‘खर्च लगभग त्यस्तै होला, एक/दुई महिनाको रुख लगायौं भने त्यसलाई संरक्षण गर्न कम्तिमा पनि दुई महिना लाग्छ, तर ठूलो रुख यदी हामीले लगायौं भने तीन/चार महिनाको संरक्षणले २० महिनाको संरक्षणको खर्चलाई हामीले बचाएर हामी शतप्रतिशत उपलब्धि हासिल गर्न सक्छौं।’ तर खोइ त, उनले सुनाएको त्यो योजना?
यो सपना उनले नेपालगन्जमा मात्र होइन, दाङ, बर्दियालगायतका जिल्लामा पनि पुगेर देखाएका थिए। अहिले नेपालगन्ज–कोहलपुर सडकखण्डमा साना विरुवाहरु त लगाइएको छ, तर त्यसको संरक्षण हुन सकेको छैन। उक्त विरुवा वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयले भने लगाएको होइन। उक्त सडकखण्डको बीच भागमध्ये केही घाँसे मैदान भएको छ।
गोडमेलसमेत नहुँदा लगाइएका विरुवाहरु हुर्किन सकेका छैनन्। लगाइएका फूलहरु पनि पानी अभाव र सडकको धुलोले गर्दा सुन्दरता दिन सकेका छैनन्। गोडमेल र पानी अभावमा अहिले ती विरुवा सुक्न थालेका छन्। मन्त्रीको यो योजनालाई महत्त्वका साथ हेरिएको थियो। तर, कमजोर व्यवस्थापनका कारण कार्यक्रम अगाडि बढ्न नसकेपछि वातावरण संरक्षणकर्मीहरु पनि निराश भएका छन्।
फोरलेन सडकखण्डको बीच भागमा वृक्षारोपण गर्ने कार्यक्रम छ, तर अगाडि बढ्न नसकेको वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयका प्रवक्ता सुरेशचन्द्र आचार्यले जनाए। ‘यसका लागि जिल्लासमेत छनोट भइसकेका छैनन्। पहिला कुन जिल्लामा यो कार्यक्रम गर्ने भन्ने एकीन हुन्छ र अनि लागू हुन्छ।
वृक्षारोपणमा केही पैसा भएकाले त्यसलाई यता प्रयोग गर्न खोजेका छौं,’ उनी भन्छन्, ‘केही फोरलेन सडकको मर्मत सम्भारको काम भइरहेकाले पनि सडकको बीच भागमा विरुवा रोप्न सकिएको छैन।’ सहरमा विरुवा रोप्ने विषयमा छलफल भइरहेको मन्त्री हमालले बताए।
‘यो कामलाई विशेषरुपमा लिएका छौँ। प्रक्रियागतरुपमा निरन्तर काम भइरहेको छ। त्यसका लागि बजेटसमेत छुट्याएका छौँ। करिब ७५ लाख रुपैयाँ जति बजेट विनियोजन भएको छ। प्रक्रियामै रहेकोले फिल्डमै गएर काम भएको छैन। हामी प्रक्रियामै छौँ। सरोकारवालासँग पनि अन्तरक्रिया बढाएका छौँ। सडकसँग कुराकानी भइराखेको छ। पहिलाका सचिव ज्यू रिटायर्ड हुनु भएकोले अलि ढिला भयो। एक महिनापछि नयाँ सचिव ज्यू आउनु भएको छ। पहिलाको सचिव ज्यूलाई सबै थाहा थियो। नयाँ सचिव ज्यू पनि काम गर्दै हुनुहुन्छ। केही समय लाग्ला। यो काम जसरी पनि हुन्छ। हरित सहर बनाउने काम छिट्टै हुन्छ,’ उनले भने।
यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो






















प्रतिक्रिया दिनुहोस्