
बागमती: मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताका लागि गाउँपालिकाका कर्मचारीहरुले नगद सहयोग गरेको छ । सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङलाई नगद हस्तान्तरण गर्नुभएको हो ।
प्रमुख प्रशासकीय अधिकृत दर्जीले कर्मचारीहरुको तर्फबाट १ लाख ३२ हजार २ सय ३१ रुपैयाँ सहयाेग नगद खेलकुद विकास समितिलाई हस्तान्तरण गर्नुभएको छ । बागमती-४ स्थित सहिद स्मृति रंगशालामा जारी प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। प्रतियोगिताका लागि विभिन्न संघसंस्था, जनप्रतिनिधि, कर्मचारी र खेलप्रेमीहरुबाट सहयोग पाउने क्रम जारी रहेको खेलकुद विकास समितिका अध्यक्ष थिङले बताउनुभयो ।
आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्