मधेस प्रदेशको जिल्ला प्रहरी कार्यालय रौतहटले बालक हत्याको  आरोपिलाई शुक्रबार सार्वजनिक गरेको छ।

सोही आरोपमा प्रहरीले रौतहटको माधवनारायण नगरपालिका ८ पिपरा रजवाडाका ३३ वर्षीय जयराम महतो कोइरी र ३७ वर्षीय सञ्जय कोइरीलाई सार्वजनिक गरेको हो।

मृतक बालकको काका पर्ने जयराम महतो र उनका सहयोगी सञ्जय रामले २५ गते घर बाहिर खेलिरहेका आशनारायणलाई मुख थुनेर नजिकै रहेको छाप्रोमा लगेर कपडाले हातखुट्टा बाँधेर हत्या गरेका प्रहरीको आरोप छ ।

प्रहरीले दिएको जानकारी अनुसार गएको मंसिर २५ गते माधवनारायण नगरपालिका वडा नम्बर ८ का जयप्रसाद कुशवाहाका ९ वर्षीय छोरा आशनारायण प्रसाद कुशवाहा आफ्नै घरबाट हराएका हुन्।

‘हत्या गरेको दिन बालकको शवलाई लुकाएर ‘कसैलाई शंका नहोस भनेर काका जयराम परिवारसँगै खोजी गर्न पनि गएका थिए।

हराएका कुशवाहाको खोजी गर्ने क्रममा पुस १ गते सोही ठाउँस्थित बागमती खोलामा शव फेला परेको थियो।

मृतक बालकका परिवार र जयराम महत्त्वको परिवारबीच पहिलेदेखि नै झैँ झगडा हुँदै आएको र पुरानो रिसइवीका कारण बालकको हत्या गरेर २९ गते राति शवलाई बोरामा हालेर बागमती नदीमा फालेको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बालकको हत्यामा प्रयोग गरेका कपडा, बोरा लगायतका सामग्री समेत प्रहरीले फेला पारेको छ भने पक्राउ परेका दुइ आरापीलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थप गरी कानूनी कारबाही अगाडी बढाएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।